आकांक्षी धेरै भएपछि महादेव जनता नमुना माविको व्यवस्थापन समिति चयन भएन

1.4k Shares

दुर्गा कुमारी अधिकारी
सर्लाहीको हरिवन नगरपालिका ८ को महादेव जनता नमूना माध्यमिक विद्यालयको व्यवस्थापन समिति चयन हुन सकेन । हरिवन नगरपालिका ८ को महादेव जनता नमूना माध्यमिक विद्यालयको विद्यालय व्यावस्थापन समितिका लागि धेरै जनाले इच्छा देखाएपछि  समिति चयन हुन नसकेको हो ।
अभिभावक भेलामा अभिभावक,जग्गादाता र शिक्षाप्रेमी मध्यबाट व्यवस्थापन समितिमा रहनका लागि ३३ जनाले इच्छा देखाएका छन् । व्यवस्थापन समितिमा ४ जना अभिभावक, २ जना शिक्षाप्रेमी,१ जना वडाका प्रतिनिधि,१ जना उद्योग वाणिज्य संघका प्रतिनिधि, प्रधानाध्यापक र १ जना शिक्षक प्रतिनिधि गरी १० जना सदस्य रहने व्यावस्था छ ।
अभिभावक भेलाबाट चयन गर्नुपर्ने ४ जना अभिभावक र २ जना शिक्षाप्रेमीका लागि ३३ जनाले दावी गरेका विद्यालयले जनाएको छ । यतिधेरै जनाले आकांक्षा राखेपछि बुधबारको भेलाबाट व्यवस्थापन समितिका सदस्य छान्न नसकिएको हरिवन नगरपालिका ८ का वडा अध्यक्ष  प्रज्वल ढुंगानाले जानकारी दिए ।
उनका अनुसार भेलाले सहजीकरण समिति बनाएर छलफलबाटै व्यवस्थापन समितिका सदस्य छान्ने सहमती गरेको छ । छलफलमा हरिवन नगरपालिका ८ का  वडाध्यक्ष ढुंगाना, नेपाली कांग्रेसका नेता विनोद कार्की,नेकपा(एमाले)का नेता एवम हरिवन नगरपालिका ९ का निवर्तमान वडा अध्यक्ष सीताराम पोखरेल,नेकपा(माओवादी केन्द्र)का नेता अर्जुन पन्त, नेकपा(एकीकृत समाजवादी)का नेता भरत कार्की, हरिवन नगरपालिकाको शिक्षा शाखा प्रमुख रुस स्टालिन चौलागाई र प्रधानाध्यापक जयशंकर सिंह सदस्य रहेको सहजीकरण समिति बनाइएको हो ।
सहजीकरण समितिले दिएको नामावलीमा सबैले सहमति जनाउने भेलाबाट निर्णय भएको हरिवन नगरपालिका ९ का निवर्तमान वडा अध्यक्ष एवम एमाले नेता पोख्रेलले बताए ।व्यवस्थापन समितिको सदस्यमा अभिभावकबाट रामचन्द्र राम,जनार्दन पोखरेल,जयबहादुर कार्की,यादवप्रसाद गौतम,लक्ष्मण निरौला,खली कुजमा,अर्जुन प्रसाद दाहाल,हर्कबहादुर खड्का, जयनारायण चौधरी,मकुन्द प्रसाद बराल,ङमेन्द्र प्रसाद घिमिरे र यमबहादुर भुजेलले चहाना राखेका छन् ।
यस्तै, अभिभावक महिलाबाट पनि ९ जनाको दावी रहेको छ ।अन्जना कडरिया,दिर्घ लुइटेल (आचार्य),मनुमाया मल्ल(आले),सरस्वती पोखरेल,स्वस्तिका पोखरेल,यशोदा कुमारी भट्टराई, सरिता घिमिरे(विक),रीता मैनाली र सुमित्रा घिमिरे(दाहाल)लेव्यवस्थापन समिति सदस्यको लागि इच्छा देखाएका हुन ।
जग्गादाता र शिक्षाप्रेमीबाट व्यवस्थापन समितिमा इच्छा राख्नेहरु घनश्याम मास्के, मोहनकुमार कार्की,सुकदेव कार्की,विप्लव कार्की,निरज खड्का,हरिवन नगरपालिका ८ का निवर्तमान वडा अध्यक्ष यज्ञविनोद ढुंगेल,श्यामबाबु कार्की,प्रकाश पौडेल,हरिप्रसाद उप्रेती, कुलबहादुर थपलिया,श्यामकुमार कर्ण र दीपककुमार उप्रेती रहेका छन् । गरिवका छोराछोरी अध्ययन गर्ने नगरकै एक मात्र नमूना विद्यालयमा सहमतीबाटै व्यवस्थापन समिति चयन गरेर अझ व्यवस्थित ढंगले विद्यालय संचालन गर्नुपर्नेमा अभिभावकहरुले जोड दिएका छन् ।
हरिवन नगरपालिका ८ का वडाध्यक्ष ढुंगानाको अध्यक्षतामा भएको बुधबारको अभिभावक भेलामा हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी(कमल),उप प्रमुख हरिमाया घलान,हरिवन नगरपालिका ११ का वडाध्यक्ष शेष मेहबुब रेजा,नगर शिक्षा शाखाका प्रमुख रुस स्टालिन चौलागाईलगायतको आतिथ्यता रहेको थियो ।

सम्बन्धित समाचार