दुर्गा कुमारी अधिकारी
सर्लाहीको चन्द्रनगरमा गाउँब्लक जग्गाको लालपुर्जा दिने भन्दै विपन्नसँग असुलेको पैसा फिर्ता भएको छ ।चन्द्रनगर गाउँपालिका ४ स्थित गाढाटोलका विपन्न मुसहर र दलित परिवारसँग घडेरीको लालपुर्जा दिने भन्दै असुल गरेको रकम फिर्ता भएको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राज कुमार महतोले जानकारी दिए । उनका अनुसार पुस्तौँ पुस्तादेखि बसोवास गर्दै आएका मुसहर र दलित परिवारलाई गाउँ ब्लकको लालपुर्जा दिने भन्दै निवर्तमान जनप्रतिनिधिहरु र नापी कार्यालयका कर्माचारीहरुले रकम असुल गरेका पाईएपछि सो रकम वर्तमान जनप्रतिनिधिहरुको पहलमा फिर्ता भएको हो ।
निवर्तमान जनप्रतिनिधि र नापी कार्यालय मलंगवाका कर्मचारी मिलेर रकम असुलेका स्थानीयको आरोप छ । यसरी गाउँमा घरैपिच्छे लालपुर्जा दिने भन्दै रकम संकलन सुरु गरेपछि दैनिक ज्याला मजदुरी गरेर जीवन धान्दै आएका दलित तथा अति विपन्न परिवारले ऋणधन गरेर पैसा बुझाएका थिए । गाउँमा प्रतिघर रु एक हजारदेखि पटक–पटक गरेर रु तीन हजारसम्म रकम संकलन भएको पाइएको गाउँपालिकाकी उपा अध्यक्ष गीतादेवी महतोले बताइन् । उनका अनुसार लालपुर्जा पाउने आसमा सय कडा चार रुपैयाँ सम्म ब्याजमा ऋण काढेरै भए पनि पैसा बुझाएको स्थानीय नागेन्द्र माझी मुसहरले बताए । उनका अनुसार निवर्तमान वडा सदस्य सहित नापी कार्यालय मलंगवाका कर्माचारीहरुले आफुहरुलाई लालपुर्जा दिने भनेपछि गाउँका स्थानीयले रकम संकलन गरेर बुझाएका हुन ।
लालपुर्जाका लागि भन्दै रकम माग्न आएपछि आफुले पनि रु दुई हजार बुझाएको स्थानीय शारदा माझी मुसहरले बताइन् । निवर्तमान वडासदस्य घरमै आएर लालपुर्जाको लागि रकम मागेपछि ऋण गरेर रु दुई हजार दिएको उनले बताइन् । गाढाटोलकै सुखल माझी मुसहर,चन्द्रदेवी यादव,चिन्गी डोम चमार,कमल माझी मुसहर,सन्झादेवी माझी मुसहर,चुल्हियादेवी माझी मुसहरलगायतसँग पनि रकम उठाइएको पाईएको गाउँपालिका उपा अध्यक्ष गीतादेवीले जानकारी दिइन ।
सोही घटनामा संलग्न निवर्तमान वडासदस्य सहित गाउँपालिकाकी उपप्रमुख गीतादेवी,वडाध्यक्ष,पीडित परिवारलगायतको उपस्थितिमा भएको बैठकले रु ३० हजार फिर्ता गएको गाउँपालिका कार्यालयले जनाएको छ । निवर्तमान वडा सदस्यले आफूखुसी लालपुर्जा दिने भनेर रकम संकलन नगरेको दाबी गरे । लाभग्राहीकै अनुरोधमा नापी तथा मालपोत कार्यालयका कर्मचारीको अतिथि सत्कारका लागि रकम संकलन गरेको उनको भनाई छ ।
रु २५ दस्तुरबाहेक लालपुर्जाका लागि अतिरिक्त रकम नलाग्ने नापी कार्यालय मलंगवाका प्रमुख सञ्जय मानन्धरले बताए । उनका अनुसार कसैले लालपुर्जा दिलाउँछु भनेर रकम संकलन गर्छ भने त्यो गैरकानुनी कार्य हो । “गाउँकै केही व्यक्तिहरूले रकम संकलन गर्ने र कर्मचारीहरूको सत्कार गर्ने जिम्मा सुम्पिएकाले मैले लालपुर्जा पाउने व्यक्तिसँग रकम संकलन गरेको हुँ”निवर्तमान वडा सदस्यले बताए ।
आफूहरू ठगिएको भन्दै स्थानीयले गाउँपालिकामा उजुरी गरेपछि घटना बाहिर आएको हो । घटना बाहिर आएलगत्तै आफु सहित हालका जनप्रतिनिधिहरुको पहलमा बैठक बसेर रकम फिर्ता गराइएको गाउँपालिकाका अध्यक्ष महतोले बताए । उनका अनुसार सो क्षेत्रमा केही दिन पहिला लालपुर्जा समेत वितरण गरिएको छ ।