सर्लाहीको हरिपुर नगरपालिका १ जानकीनगरमा स्थानीय सामुदायिक वन क्षेत्रभित्रको पोखरीको स्वामित्व सम्बन्धी विषयमा देखिएको विवाद समाधान नजिक पुगेको छ ।विवाद समाधानका लागि सहजिकरण गरिरहेको प्राकृति स्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालले प्राकृतिक श्रोत द्वन्द रुपान्तरण प्रक्रिया प्रस्ताव पारित गर्न संयुक्त बैठक सम्पन्न गरेसंगै विवाद समाधान नजिक पुगेको हो ।
हरिपुर नगरपालिका १ स्थित जानकी सामुदायिक वन उपभोक्ता समूह,देउराली सामुदायिक वन उपभोक्ता समूह,स्थानीय हरिहर जनता आधारभुत विद्यालय र पोखरीका ठेकेदार पक्षबीच पोखरीको स्वामित्व लगायतका विषयमा विवाद उत्पन्न भएपछि हरिपुर नगरपालिकाको न्यायिक समिति र सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला महासंघ सर्लाहीको सिफारिसमा प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र सो विवाद समाधान गर्न प्रयासरत रहेको केन्द्रले गठन गरेको माकुरा समुहले जनाएको छ ।
हरिपुर नगरपालिका १ का वडा अध्यक्ष नानीबाबु थापाको अध्यक्षता तथा हरिपुर नगरपालिकाकी उप प्रमुख निलमदेवी यादवको प्रमुख आतिथ्यतामा भएको संयुक्त बैठकमा डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख डिभिजन वन अधिकृत मन्जुर अहमद,सव डिभिजन वन कार्यालय जानकीनगरका प्रमुख रोहित चौधरी,सामुदायिक वन उपभोक्ता महासंघ सर्लाहीका अध्यक्ष सिताराम पोखरेल,उपाध्यक्ष प्रह्लाद बुढाथोकी लगायत सरोकारवालाहरुको उपस्थितिमा बैठक सम्पन्न भएको हो ।
वैठकमा पोखरीको विषयमा देखिएको विवाद समाधानका लागि आफूहरुले अपनाउने प्रक्रियाहरु सरोकारवालाहरुसँग अलग–अलग धारणा संकलन गरी प्राप्त सल्लाह सुझावलाई माकुरा समूहको बैठकमा समिक्षात्मक छलफल गरी तयार पारिएको प्रकृया प्रस्तावको खेस्रा प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्रकी राष्ट्रिय स्रोत व्यक्ति पार्वती वि.कले बैठकमा प्रस्तुत गरी सबैको सल्लाह सुझावसहित सर्वसम्मत पारित भएको प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्रकी राष्ट्रिय स्रोत व्यक्ति पार्वती वि.कले जानकारी दिइन् ।उनका अनुसार“माकुरा समूहले सबैपक्ष तथा सरोकारवालाहरुको सहमतिमा प्रक्रिया प्रस्ताव तयार गरेको हो ।यही प्रक्रिया अनुसार कसैले पनि नहार्ने सबैले जित्ने ढंगले नै द्वन्द रुपान्तरण हुनेमा छ ।”
विवादलाई थप नलम्ब्याइ सबै सरोकारवालाहरुको साझा सहमतीका आधारमा विवाद समाधन गर्न डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख डिभिजन वन अधिकृत अहमदले पनि आग्रह गरे ।उनले सामुदायिक वन क्षेत्रभित्र खनिएको पोखरी कानूनतःसामुदायिक वनकै हुने भएकोले कानून विपरीत नगर्न सरोकारवालालाई निर्देशन समेत दिए । त्यस्तै सामुदायिक वन उपभोक्ता महासंघ सर्लाहीका अध्यक्ष सिताराम पोखरेलले पनि विवादलाई जति सक्दो छिटो सल्ट्याउन आग्रह गरे ।उनले“वनक्षेत्रभित्रको पोखरीमा वन या सामुदायिक वनबाहेक अरुले स्वामित्व दावी गर्न नपाउने बताए ।”