सर्लाहीको लालबन्दी नगरपालिका–१७,रानिगन्जमा तरकारी बजार राख्ने विषयमा सरोकारवालाहरुसंग छलफल भएको छ । रानिगन्जमा तरकारी बजार राख्ने विषयमा छलफल भएको लालबन्दी नगरपालिका १७ का वडा अध्यक्ष विष्णु अधिकारीले जानकारी दिए ।उनका अनुसार पटक पटकको पहल पश्चात केन्द्र,प्रदेश तथा स्थानीय तहबाट गरी रानिगन्जमा तरकारी बजार राख्न रु ७९ लाख ७१ हजार बजेट विनियोजन भएको बताए ।
केन्द्र,प्रदेश तथा स्थानीय तहबाट प्राप्त भएको रु ७९ लाख ७१ लाख बजेट के कसरी खर्च गर्ने भन्ने विषयमा केन्द्र,प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिहरु,स्थानीय राजनैतिक दलका प्रतिनिधिहरु,राजनीतिज्ञहरु,वुद्धिजिवीहरुका साथै किसानहरुलगायतसँग बृहत छलफल गरिएको वडाध्यक्ष अधिकारीले जानकारी दिए ।उनका अनुसार रानिगन्जस्थित पूर्व–पश्चिम राजमार्ग छेउमा रहेको देवता महाकाली गुठीको करिब ४ बिघा जमिनमा बजार राख्ने तयारी भएको छ । आजको छलफलले तरकारी बजार राख्नका लागि पुनः छलफल बोलाएर समिति गठन गर्ने निर्णय गरेको लालबन्दी नगरपालिका १७ को कार्यालयले जनाएको छ ।
लालबन्दी बजारमा रहेको थोक तरकारी बजार साँघुरो रहेको र रानिगन्जसहित उत्तर–पूर्वी भेगका किसानहरुलाई लालबन्दी बजार टाढा पनि भएकाले रानिगन्जमै तरकारी बजार राख्न पहल थालिएको वडाध्यक्ष अधिकारीले बताए । जसका लागि भएको पहिलो छलफलमा सर्लाही क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य रामप्रकाश चौधरी,प्रदेशसभा सदस्य बेची लुंगेली, लालबन्दी नगरपालिकाकी नगर उप प्रमुख कल्पनामाया पाख्रिनलगायतको उपस्थिति रहेको थियो ।