सर्लाहीका अधिकांश स्थानीय तहहरुले पुजिगत बजेटको लक्ष्य पुरा गरेनन्

2k Shares

सर्लाहीका अधिकांश स्थानीय तहहरुले चालु आर्थिक वर्ष २०८०÷०८१ को लक्ष्य अनुसारको पुँजीगत बजेट खर्च गर्न सकेका छैनन्। चालू आर्थिक वर्ष २०८०/०८१ का लागि नगरसभा तथा गाउँ सभाले विनियोजन गरेको बजेटमध्ये जिल्लाका धेरै स्थानीय तहहरुले तीन महिनाको अवधिमा करिब २० प्रतिशत मात्रै पुँजीगत बजेट खर्च गरेका छन्।चालू आर्थिक वर्ष २०८०/०८१ का लागि लालबन्दी नगरपालिकाले चालू आर्थिक वर्षको लागि रु एक अर्ब पाँच करोड २१ लाख ८७ हजार बजेट विनियोजन गरेकोमा चालूतर्फ २० दशमलव ५३ प्रतिशत र पुँजीगततर्फ ४ दशमलव ३६ प्रतिशत बजेट खर्च गरेको नगरपालिकाको लेखा शाखाले जनाएको छ ।
त्यस्तै हरिवन नगरपालिकाले यस आर्थिक वर्षका लागि कूल बजेट रु ७० करोड ८१ लाख विनियोजन गरेकोमा चालूतर्फ १५ दशमलव ४९ प्रतिशत र पुँजीगततर्फ ० दशमलव १५ प्रतिशत बजेट खर्च गरेको हरिवन नगरपालिकाका लेखा अधिकृत प्रतीक कार्कीले जानकारी दिए ।हरिपुर नगरपालिकाले सार्वजनिक गरेको कूल बजेट रु ६३ करोड ५९ लाख ८५ हजार छ सयमध्ये तीन महिनाको अवधिमा चालूतर्फ २१ दशमलव ७ प्रतिशत र पुँजीगततर्फ १० दशमलव ४ प्रतिशत बजेट खर्च गरेको छ । यता,बरहथवा नगरपालिकाले यस आर्थिक वर्षको लागि सार्वजनिक गरेको कूल बजेट रु ८२ करोड ७५ लाख ७३ हजार आठ सय ५७ रुपियांमध्ये चालू खर्चतर्फ १९ दशमलव ११ प्रतिशत र पुँजीगत खर्चतर्फ १५ दशमलव ९३ प्रतिशत बजेट खर्च गरेको आर्थिक प्रशासन शाखाले जनाएको छ ।
भने,विष्णु गाउँपालिकाले यस आर्थिक वर्षका लागि विनियोजन गरेको रु ३९ करोड ७१ लाख २० हजार बजेटमध्ये चालूतर्फ ११ दशमलव ११ प्रतिशत खर्च गरेको छ भने पुँजीगततर्फ छुट्टयाइएको बजेट अहिलेसम्म खर्च गर्न सकेको छैन। गोडैता नगरपालिकाले यस आर्थिक वर्षका लागि रु ६८ करोड १० लाख बजेट नगरसभाबाट सार्वजनिक गरेकोमा चालूतर्फ १९ दशमलव २० प्रतिशत र पुँजीगत तर्फ ११ दशमलव १५ प्रतिशत बजेट खर्च गरेको छ। स्थानीय तहहरुले समयमै पुँजीगत बजेट खर्च गर्नु नसक्नुमा प्रदेश सरकारसँग पालिकाको समन्वय राम्रो नहुनु मुख्य कारण रहेको हरिपुर नगरपालिकाका नगर प्रमुख गोपाल पंजियारले बताए ।
उनका अनुसार प्रदेश सरकारले स्थानीय तहहरुलाई पठाउने बजेटको कुनै सुनिश्चित हुँदैन,प्रदेश सरकारले व्यक्ति हेरेर पहुँचका आधारमा बजेट पठाउँदा काम गर्न ढिलो हुने गरेको छ ।अन्तिम समयमा आएर बजेट पठाउँदा पुँजीगत बजेट खर्च हुँदैन,पालिकाले नागरिकको आवश्यकता अनुसार बजेट बनाउने गरेको हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकीले बताउनु भयो । तर,प्रदेश सरकारले पठाउने बजेट त्यस्तो हुँदैन । अर्को समस्या संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफुखुसी प्रमुख प्रशासकीय अधिकृतको सरुवा गर्दा पनि समयमै बजेट खर्च हुन नसकेको उहाँले बताउनु भयो ।प्रमुख प्रशासकीय अधिकृत नहुँदा उपभोक्ता समिति गठनदेखि ठेक्का पट्टा लगायतका सबै काम रोकिएको हुन्छ।’
चन्द्रनगर,बसबरिया गाउँपालिका र हरिपूर्वा नगरपालिकाले चालु आर्थिक वर्षको बजेट,नीति तथा कार्यक्रम अहिलेसम्म पनि ल्याउन सकेका छैन् ।जिल्लाका ११ नगरपालिका र नौ गाउापालिका गरी २० स्थानीय तहहरु मध्य नगरसभा सम्पन्न गरिसकेका धेरै पालिकाले पनि आफ्नो वार्षिक नीति तथा कार्यक्रम र योजनाहरु कसरी सञ्चालन गर्ने भन्ने योजना नबनाएका पाइएको छ ।
स्थानीय पालिकामा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीच मतभेद् हुँदा पनि पुँजीगत बजेट खर्च हुन ढिलो भएको लालबन्दी नगरपालिकाका निवर्तमान नगर प्रमुख मान बहादुर खड्काले बताए ।उनका अनुसार आर्थिक वर्ष सकिएलगत्तै धेरै स्थानीय तहहरुका प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा बस्न मान्दैनन्।नयाँ सरुवा भएर कार्यालयमा आउने प्रमुख प्रशासकीय अधिकृतलाई पनि नयाँ ठाउँमा चाँजोपाँजो मिलाउन समय लाग्छ।
जिल्लाका २० वटा स्थानीय तहहरुमध्ये १७ वटा स्थानीय तहहरुलाई साउनदेखि असोजसम्म तीन महिनाको निकासा पठाइएको कोष तथा लेखा नियन्त्रक कार्यालय सर्लाहीका प्रमुख निर्मल न्यौपानेले बताए । उनका अनुसार जिल्लाका हरिपुर्वा नगरपालिका,चन्द्रनगर र बसबरिया गाउँपालिकाले नगरसभा तथा गाउँ सभा सम्पन्न नगरेकाले बजेट माग गरेका छैनन्।

सम्बन्धित समाचार