सर्लाहीको बागमती नगरपालिका ८,सोल्टी बजार क्षेत्रमा केही दिनदेखि व्यापक मात्रामा फैलिएको डेंगुको संक्रमणलाई नियन्त्रणमा गर्न भन्दै बागमती नगरपालिकाको स्वास्थ्य शाखाले लामखुट्टे मार्ने औषधी छर्किने,लार्भा खोजेर नष्ट गर्ने र स्थानीय वासिन्दालाई सचेतना प्रदान गर्ने काम सुरु गरेको छ ।बागमती नगरपालिका ८ सोल्टी बजार क्षेत्रमा दिनहुँ डेंगुका बिरामी बढ्न थालेपछि सोल्टी बजार क्षेत्रमा लामखुट्टे मार्ने औषधी छर्किने,लार्भा खोजेर नष्ट गर्ने र स्थानीय वासिन्दालाई सचेतना प्रदान गर्ने काम सुरु गरिएको स्वास्थ्य शाखाका संयोजक पदम रायमाझीले जानकारी दिए ।
उनका अनुसार बागमती नगरपालिका ८ सोल्टी बजार क्षेत्रमा करिब ६० जना भन्दा बढी स्थानीयमा डेंगुको संक्रमण देखिएको छ ।“आइतबार बजार क्षेत्रमा विवरण संकलन गर्दा ६० जना भन्दा बढी बिरामी भेटिएका छन्,”स्वास्थ्य शाखा संयोजक रायमाझीले बताए ।उनका अनुसार “सोमबारबाट बजार छेउछाउका बस्तीमा पनि विवरण संकलन सहित लामखुट्टे मार्ने औषधी छर्किने,लार्भा खोजेर नष्ट गर्ने र स्थानीय वासिन्दालाई सचेतना प्रदान गर्ने काम सुरु गरिएको छ ।”
बिरामी फेला परेका घरको सय मिटर आसपासमा औषधि छर्किने काम भइरहेको स्थानीयले जानकारी दिए ।सोल्टी बजार क्षेत्रमा लामो समयदेखि राखिएको पानीका खाली ड्रममा वर्षाको पानी जमेको पाइएको र ती ठाउँमा बसेका लामखुट्टेबाट डेंगु फैलिएको हुन सक्ने स्वास्थ्य शाखा संयोजक रायमाझीले बताए ।हार्डवेयर पसलले बिक्रीका लागि राखेका खानेपानीका ड्रमहरुबाट पानी पोखेर औषधी छर्किने काम सुरु गरिएको बागमती नगरपालिका ८,का वडाध्यक्ष डम्बर बहादुर कार्कीले बताए । उनका अनुसार तीन साता अघिदेखि डेंगुको संक्रमण देखिन सुरु भएको हो ।
स्वास्थ्य शाखा संयोजक रायमाझीका अनुसार बागमती नगरपालिकाले कर्मैया स्वास्थ्य चौकीमा सञ्चालन गरेको जनस्वास्थ्य प्रयोगशालामा डेंगुको परीक्षण तथा नगरपालिका मातहतका स्वास्थ्य चौकीहरुमा उपचार समेत भईरहेको छ ।बागमती नगरपालिकाको स्वास्थ्य शाखाले डेंगुबाट जोगिन घर वरिपरी पानी जम्न नदिन,सुत्ने बेला झुलको प्रयोग गर्न र लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउन आग्रह गरेको छ ।चिसो बढ्दै जाँदा डेंगुको संक्रमण घट्ने भएपनि हिजोआज दिनभर चरक्क भएर घाम लाग्दा डेंगु फैलाउने लामखुट्टेका लागि झन अनुकूल वातावरण बनेको चिकित्सकहरु बताउँछन् ।