सर्लाहीका उखु उत्पादक किसानहरुले उखुकाे मुल्य बृद्धीकाे माग गर्दै आन्दोलन घाेषणा गरेका छन् । चालू सिजनकाे उखुकाे मूल्य बृद्धीगर्नु पर्ने र विगतका वर्षमा उद्योगलाई बिक्री गरेकाे उखुकाे अनुदान बक्यौता भुक्तानि गर्न माग गर्दै जिल्लाका उखु उत्पादक किसानहरुले आन्दोलनको घोषणा गरेका हुन् ।नेपाल उखु उत्पादक महासंघसहित अन्य उखु उत्पादक समितिहरुले चालू सिजनका लागि उखुको न्यूनतम मूल्य प्रतिक्विन्टल रु सात सय ५० कायम गर्न र गतवर्ष बिक्री गरेको उखुकाे अनुदान बक्यौता भुक्तानी गर्न माग गर्दै आन्दमेलन घाेषणा गरेका नेपाल उखु उत्पादक महा संघका अध्यक्ष कपिलमुनी मैनालीले जानकारी दिए ।
उनका अनुसार चालू सिजनका लागि उखुको मूल्य तोक्न र पुरानो बक्यौता भुक्तानी गर्न पटक-पटक आग्रह गर्दा पनि सरकारले बेवास्ता गरेपछि बाध्य भएर उखु उत्पादक किसानहरुले आन्दोलन घाेषणा गरेका हुन । आन्दोलनको कार्यक्रम अन्तर्गत हरिवनमा उखु उत्पादक किसानहरुको बृहत भेला गर्ने र शनिबार उखुको लाक्रा बोकेर पूर्व-पश्चिम लाेकमार्ग अन्तर्गत हरिवनमा प्रदर्शन गर्ने उखु उत्पादक किसानहरुले तयारी गरेका महासंघका अध्यक्ष मैनालीले बताए ।
सरकार आफैले गत वर्षको अनुदान रकम हाल सम्मपनि नदिएको र यो सिजनका लागि उखु काट्न ढिलो भइसक्दा समेत उखु उत्पादन गर्न लाग्ने लागत अनुसार मूल्य नतोक्दा उखु सुकेर गइरहेकाले अन्य कुनै विकल्प नभएपछि सडक आन्दोलनमा जाने तयारी गरिएको मिलगेट उखु उत्पादक समिति सर्लाहीका अध्यक्ष राजकुमार उप्रेतीले बताए । उनका अनुसार मङ्सिर २५ गते कृषि मन्त्रालयमा भएको वार्तामा उखुको मूल्य गतवर्षकाे मूल्य रु पाँच सय ४० मा रु २५ प्रति क्विन्टल थपेर रु पाँच सय ६५ कायम गर्न सिफारिस गरिएको थियाे तर साे मूल्यमा उखु उत्पादक किसानहरुले असहमति जनाएका छन् ।
त्यसअघि मङ्सिर १७ गते कृषि मन्त्रालयमै सरकार, उद्योगी र किसान प्रतिनिधिहरुबीच भएको त्रिपक्षीय वार्तामा उखुको मुल्य प्रतिक्विन्टल अनुदान बाहेक रु पाँच सय ५१ दिने सिफारिस गर्दा सो वार्तामा पनि उखु उत्पादक किसानहरुका प्रतिनिधिहरुले असहमती जनाएर फर्किएका महासंघका अध्यक्ष मैनालीले बताए । गत वर्ष उखुको मूल्य प्रतिक्विन्टल अनुदान बाहेक रु पाँच सय ४० कायम भएको थियो । त्यसमा सरकारले रु ७० प्रति क्विन्टल अनुदान दिएर रु छ सय १० उखु उत्पादक किसानहरुलाई पलब्ध गराउने निर्णय भएको थियो ।
गएको वर्षको प्रति क्विन्टल रु ७० सरकारी अनुदान रकम अझै उखु उत्पादक किसानहरुले पाउन सकेका छैनन् । यो वर्ष उखुको मूल्य निर्धारण गर्दा चिनीको बढेको बिक्री मूल्य, उखु उत्पादनमा लाग्ने हालको लागतकाे आधारमा न्यूनतम मूल्य रु सात सय ५० कायम गर्नुपर्ने आफूहरुको माग रहेको मिलगेट उखु उत्पादक समिति सर्लाहीका अध्यक्ष उप्रेतीले बताए।
जिल्लाका उखु उत्पादक किसानहरुले चालू सिजनकाे उखुको मूल्य तय नहुँदा सम्म चिनी उद्योग सञ्चालन हुन नदिने अडान लिएका छन् । उखुको मूल्य निर्धारण नहुँदा सम्म उद्योग सन्चालन नगरिदिन जिल्लाका उखु उत्पादक किसानहरुले चिनी उद्योगहरुसंग आग्रह गरेपछि आफुहरु सहित अन्नपुर्ण चिनी उद्योग धनकाैल र एभरेष्ट सुगर केमिकल इण्डष्ट्रिज रामनगर महोत्तरी सहितका केही चिनी उद्योगहरुले उखु क्रसिङ सुरु नगरेका इन्दु शंकर चिनी उद्योग हरिवनका उखु प्रवन्धक याेग नारायण रजकले जानकारी दिए । उनका अनुसार ईन्दु शंकर चिनी उद्योगले मंसिर २६ गतेबाट चालू सिजनकाे क्रसिङ सुरु गर्ने तयारी गरेपछि उद्योग परिसरमा आई पुगेकाे उखु डम्पिङ गरेर राखिएको छ । जिल्लाकाे ईन्दु शंकर चिनी उद्योग हरिवन बाहेक अरु चिनी उद्योगहरुले गत वर्ष खरिद गरेकाे उखुकाे भुक्तानी नै गरेका छैनन् ।