सर्लाहीका उखु उत्पादक किसानहरुले नेपाल सरकारको अर्थ र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको ब्यानरको प्रतिमा बनाएर आगो लगाएका(दहन) गरेका छन् ।जिल्लाका उखु उत्पादक किसानहरुले कृषि तथा पशुपंक्षी विकास मन्त्रालय नभई विनास मन्त्रालय तथा अर्थ मन्त्रालयल नभई अनर्थ मन्त्रालय रहेको व्यंग्यात्मक ब्यानर प्रदर्शन गर्दै उक्त व्यानर जलाएका हुन् ।
पुर्व पश्चीम लोकमार्ग अन्र्तगत हरिवन नगरपालिका ११ स्थित कडरिया चोकमा जम्मा भएका जिल्लाका उखु उत्पादक किसानहरुले सरकार र चिनी उद्योगी विरुद्ध नाराबाजी समेत गरेका मिलगेट उखु उत्पादक समितिका अध्यक्ष राजकुमार उप्रेतीले जानकारी दिए।उनका अनुसार चालु सिजनका लागि उखुको मूल्य तत्काल तोक्न र गत वर्षको उखु बिक्रि वापत राज्यले दिनुपर्ने अनुदान वापतको बाँकी बक्यौता रकम भुक्तानी गर्न माग गर्दै चरणवद्ध आन्दोलन सुरु गरेका हुन ।
उखु उत्पादक किसानहरुले आफ्नो आन्दोलनको कार्यक्रम अन्र्तगत शनिबार हरिवनमा उखुको हरिया लाथ्रा बोकेर नारबाजी सहित जुलुस निकालेका थिए ।हरिवन नगरपालिका ११ स्थित कृष्णमन्दी चोकबाट सूरु भएको जुलुस ईन्दु शंकर चिनी उद्योग अगाडि पुगेर पुनःहरिवन बजारमै फर्किएर विरोध सभामा परिणत भएको थियो ।आन्दोलनको तयारी स्वरुप शुक्रबार नै हरिवनमा जिल्लाका उखु उत्पादक किसानहरुको बृहत भेला समेत सम्पन्न भएको र किसान नेताहरुले चालु सिजनको उखुको मूल्य प्रतिक्विन्टल रु सात सय ५० कायम गर्न माग गरेका हुन् ।
त्यस्तै, गत वर्ष उखु उत्पादक किसानहरुले बिक्रि गरेको उखुको सरकारले दिनुपर्ने अनुदान वापतको रु ७० प्रतिक्विन्टल मध्ये अहिलेसम्म रु २१ प्रतिक्विन्टल मात्रै प्राप्त भएको र बाँकी रु ४९ प्रतिक्विन्टल अनुदान रकम यथाशीघ्र भुक्तानी गर्न माग गर्दै आन्दोलन थालेका किसान अगुवा एवम नेकपा(माओवादी केन्द्र) हरिवन नगर कमिटिका अध्यक्ष ताराराज पन्त(अर्जुन)ले जानकारी दिए ।उनका अनुसार नेपाल उखु उत्पादक महासंघ,मिलगेट उखु उत्पादक समिति र किसान हकहित संरक्षण समितिको संयुक्त आयोजनामा विरोध प्रदर्शन भईरहेको छ ।
धमाधम उखु काटेर बेच्नुपर्ने समयमा सरकारले उखुको मूल्य नतोक्दा उखु उत्पादक किसानहरु निराश बनेका नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले बताए ।सरकारले चालु सिजनको उखुको मूल्य आफुखुसी तोकेको र गत वर्ष किसानहरुले बिक्रि गरेको उखुको अनुदान वापतको प्रति क्विन्टल रु ४९ का दरले हुन आउने रु ५३ करोड रकम भुक्तानी नहुँदा सम्म चिनी मिल नचलाउन आग्रह गरेको महासंघका अध्यक्ष मैनालीले बताए ।
देशकै सबैभन्दा ठूला दुई चिनी उद्योग इन्दु शंकर चिनी उद्योग हरिवन र एभरेष्ट चिनी मिल रामनगर महोत्तरीले उखु क्रसिङ गर्न भन्दै केही चलान वितरण गरि सकेका भएपनि उखु उत्पादक किसानहरुको आग्रह पछि चलान पनि रोकेका र चिनी मिल पनि सञ्चालन नगरेको इन्दु शंकर चिनी उद्योग हरिवनका उखु प्रवन्धक योग नारायण रजकले जानकारी दिए । राज्यले समयमै किसानहरुको प्रतिनिधिहरु समेत राखेर चालु सिजनको उखुको मुल्य निर्धारण गर्नु पर्ने र गत वर्ष उखु बिक्रि गरेका किसानहरुलाई राज्यले दिनुपर्ने प्रतिक्विन्टल रु ७० मध्य बाँकी रहेको अनुदान रकम भुक्तानी गर्नुपर्ने उखु उत्पादक किसान अगुवाहरुको भनाई छ ।
चिनीको बढ्दो मूल्य र उखु उत्पादन लागतलाई आधार मानेर चालु सिजनको उखुको मूल्य प्रतिक्विन्टल रु सात सय ५० पाउनुपर्ने उखु उत्पादक किसानहरुको अडान रहेको महासंघका अध्यक्ष मैनालीको भनाई छ ।मंसिर २५ गते कृषि मन्त्रालयमा भएको वार्तामा सरकारले उखुको मूल्य प्रतिक्विन्टल रु पाँच सय ६५ प्रस्ताव गरेपनि उखु उत्पादक किसानहरुले त्यसलाई अस्वीकार गरिएका छन् । गत वर्ष सरकारी अनुदानसहित उखुको मूल्य प्रतिक्विन्टल रु छ सय १० कायम भएको थियो ।जसमा कतिपय उद्योगहरुले उखु उत्पादक किसानहरुको रकम भुक्तानी नै गरेका छैनन् जसको प्रत्यक्ष मारमा उखु उत्पादक किसानहरुको सबै रकम भुक्तानी गरेको इन्दु शंकर चिनी उद्योग हरिवनलाई परेको उद्योग प्रशासनले जनाएको छ ।सोमबार आफ्नो आन्दोलनको चरणवद्ध श्रृङ्खला अन्र्तगत केही समय सडक जाम र सडकमा सुतेर अर्थ र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको विारेध गर्नुका साथै आफ्ना माग राख्ने कार्यक्रम रहेको आन्दोलनरत उखु उत्पादक किसानहरुले बताएका छन् ।