सर्लाहीको मलंगवा नगरपालिका ८ स्थित झिलमिलिया मन्दीर नजिकबाट प्लाष्टिकमा भ्रुण बोकेर हिँडेका एक भारतीय नागरिक पक्राउ परेका छन् । मलंगवा नगरपालिका ८ स्थित झिलमिलिया मन्दीर नजिक नेपाल–भारत सीमा दशगजा क्षेत्रबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले प्लाष्टिकमा भ्रुण बोकेर हिँडेका भारत बिहार शिवहर नारायणपुर ३ का अन्दाजी ३२ वर्षीय हरिशचन्द्र कुमार सुँढी भारतिय नागरिकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक दिपेन्द्र पंजियार थारुले जानकारी दिए ।
उनका अनुसार गर्भपतन गराएर भ्रुण फाल्न हिँडेका भारतीय नागरिक सुंढीलाई मलंगवा नगरपालिका ८,झिलमिलिया मन्दिर नजिकैबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।प्रहरी टोलीले शंका लागेर खानतलासी लिँदा सुँढीले बोकेको कालो प्लाष्टिकको पोका खोलेर हेर्दा सालनाल सहितको भ्रुण फेला परेको हो ।
भ्रुण सहित पक्राउ परेका भारतिय नागरिक सुँढीलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको र भ्रुणको पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको प्रहरीले जनाएको छ ।पछिल्लो समय जिल्लाका नीजि स्वास्थ्य संस्थाहरुले अवैध तरिकाबाट भ्रुणको लिङ्ग पहिचान गर्ने र भ्रुण हत्या गराउने काम गरि रहेका भएपनि जिल्लाका सरोकारवाला निकायहरु मौन देखिएका छन् । सामान्य दर्ता प्रक्रिया समेत पुरा नगरि अवैध रुपमा सञ्चालित नीजि स्वास्थ्य संस्थाहरुले ठूलो रकम लिएर भ्रुणको लिङ्ग पहिचान गर्ने र भ्रुण हत्या गर्ने क्रम बढी रहेको र अवैध तरिकाबाट गर्भपतन गराइ दिने काम पनि भई रहेको गुनासो व्यापक मात्रामा आउने गरेको छ ।