सर्लाहीको हरिवन नगरपालिका ११ निवासी नेकपा(माओवादी केन्द्र)का नेता शेष इस्तिहारले उखु उत्पादक किसानहरुका लागि विभिन्न ६ बुँदे माग राख्दै आमरण अनशन शुरु गरेका छन्। गत स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट हरिवन नगरपालिका ११ मा वडाध्यक्षका उम्मेदवार समेत रहेका माओवादी केन्द्रका नेता इस्तिहारले सोमवार विहान करिब साढे ११ बजेबाट इन्दुशंकर चिनी उद्योग हरिवनको मूलगेटमा आमरण अनशन शुरु गरेका माओवादी केन्द्र हरिवन नगर कमिटिका सचिव गौरी महतोले जानकारी दिए ।
उनका अनुसार माओवादी केन्द्रका नेता इस्तिहारले चालु सिजनका लागि उखुको मूल्य प्रतिक्विन्टल रु सात सय ५० हुनुपर्ने,गत वर्ष उखु बिक्रि गरेका उखु उत्पादक किसानहरुलाई राज्यले दिनुपर्ने अनुदान वापतको बक्यौता रकम तुरुन्त भुक्तानी गर्नुपर्ने,उखुको अनुदान रकम नियमानुसार सोही आर्थिक वर्षमा भुक्तानी गर्नुपर्ने,उन्नत जातको उखुको बिउको प्रवन्ध गर्नुपर्ने, कृषियोग्य जमीनमा सिँचाइको व्यवस्था गर्नुपर्ने र किसानहरुलाई चाहिने मलखादको प्रवन्ध गर्नुपर्ने लगायत ६ बुँदे माग राखेर आमरण अनशन सुरु गरेका हुन ।
आमरण अनसन सुरु गरेका माओवादी केन्द्रका नेता इस्तिहारलाई सर्लाही क्षेत्र नम्बर ३ प्रदेश सभा(क)का प्रदेशसभा सदस्य जवाहरलाल कुशवाह,मिलगेट उखु उत्पादक समिति सर्लाहीका अध्यक्ष राजकुमार उप्रेती,माओवादी केन्द्र हरिवन नगर कमिटिका अध्यक्ष ताराराज पन्त(अर्जुन), किसान नेता दिपेन्द्र मैनालीलगायतले माला लगाएर सम्मान गर्दै आमरण अनशन शुरु गराएका हुन्।केही वर्षअघि हरिवन नगरपालिका ११ का वडाध्यक्ष शेष मेहबुब रेजासमेत उखु उत्पादक किसानहरुको समस्या समाधानको माग राख्दै आमरण अनशन बसेका थिए।
उखुको चालु सिजनको मूल्य,राज्यले दिनुपर्ने अनुदान लगायतका विषयमा जिल्लाका उखु उत्पादक किसानहरुले शनिबार उखुका हरिया लाथ्रा बोकेर,आइतवार दिउँसो हरिवनमा संघीय सरकारका अर्थ र कृषि तथा पशुपक्षी विकास मन्त्रालयको ब्यानरको प्रतिमा बनाएर दहन(आगो लगाएका) र सोमबार पुर्व पश्चीम लोकमार्गमा सुतेर विरोध प्रदर्शन गरि रहेको नेपाल उखु उत्पादक किसान महासंघका अध्यक्ष कपिलमुनी मैनालीले जानकारी दिए। उनका अनुसार कृषि तथा पशुपक्षी विकास नभई विनाश मन्त्रालय तथा अर्थ नभई अनर्थ मन्त्रालय रहेको भन्दै व्यंग्यात्मक ब्यानर प्रदर्शन गर्दै उक्त व्यानरको प्रतिमा बनाएर जिल्लाका उखु उत्पादक किसानहरुले जलाएका हुन्।
उखुको चालु सिजनको मूल्य तत्काल तोक्न र गत वर्षको अनुदान वापतको बाँकी बक्यौता रकम अथासिघ्र भुक्तानी गर्न माग गर्दै आन्दोलन थालेका जिल्लाका उखु उत्पादक किसानहरुले मंगलबार केही समय पुर्व पश्चीम लोकमार्गमा चक्का जाम गर्ने आन्दोलनको कार्यक्रम रहेको छ ।जिल्लाका उखु उत्पादक किसानहरुको नेताहरुले चालु सिजनको उखुको मूल्य प्रतिक्विन्टल रु सात सय ५० कायम गर्न माग गरेका छन् भने उद्योगीहरु,अर्थ र कृषि तथा पशुपंक्षी मन्त्रालयका प्रतिनिधिहरु बसेर तयार पारेको उखुको मुल्य आफुहरुलाई मान्य नहुने समेत बताएका छन् ।
गत वर्ष उखु बिक्रि गरेका जिल्लाका उखु उत्पादक किसानहरुलाई राज्यले दिनुपर्ने अनुदान वापतको प्रति क्विन्टल रु ७० मध्य अहिलेसम्म रु २१ मात्रै प्राप्त भएको र बाँकी प्रति क्विन्टल र ४९ का दरले बक्यौता रहेको रु ५२ करोड रकम यथाशीघ्र भुक्तानी गर्न माग गर्दै आन्दोलन थालेका हुन्।नेपाल उखु उत्पादक महासंघ, मिलगेट उखु उत्पादक समिति,किसान हकहित संरक्षण समितिका साथै जिल्लाका विभिन्न राजनीतिक दलहरुले समेत उखु उत्पादक किसानहरुको विरोध प्रदर्शन तथा आन्दोलनलाई साथ दिएका छन् ।
धमाधम उखु काटेर बेच्नुपर्ने समयमा सरकारले उखुको मूल्य नतोक्दा उखु उत्पादक किसानहरु मारमा परेका किसान अगुवा नेताहरुले बताएका छन् ।चालु सिजनको उखुको मूल्य नतोकी चिनी मिल नचलाउन उखु उत्पादक किसानहरुले उद्योगहरुसंग आग्रह गरेपछि देशकै सबैभन्दा ठूला दुई चिनी उद्योग इन्दुशंकर चिनी उद्योग हरिवन र एभरेष्ट चिनी मिल रामनगर महोत्तरीले उखु क्रसिङ सुरु गर्न पाएका छैनन्।
चिनीको बढ्दो मूल्य र उखु उत्पादन लागतलाई आधार मानेर चालु सिजनको उखुको मूल्य प्रतिक्विन्टल रु सात सय ५० पाउनुपर्ने नेपाल उखु उत्पादक महासंघका अध्यक्ष मैनालीको भनाई छ।मंसिर २५ गते कृषि मन्त्रालयमा भएको वार्तामा सरकारले चालु सिजनको उखुको मूल्य रु पाँच सय ६५ प्रति क्विन्टल प्रस्ताव गरेपनि त्यो अस्वीकार गरिएको मिलगेट उखु उत्पादक समितिका अध्यक्ष उप्रेतीले जानकारी दिए। गत वर्ष सरकारी अनुदानसहित उखुको मूल्य रु छ सय १० कायम भएको थियो।