उखु किसानको जिल्ला केन्द्रीत आन्दोलन स्थगित,इन्दु शंकर चिनी उद्योग शुक्रबारबाट चल्ने

2.3k Shares

सर्लाहीका उखु उत्पादक किसानहरुको आन्दोलन तत्कालका लागि स्थगित भएको छ ।उखु किसान संयुक्त संघर्ष समितिको आज(बिहीबार)बसेको बैठकले जिल्ला केन्द्रीत आन्दोलन स्थगित गरी काठमाडौंमा गएर दबाब दिने निर्णय गरेपछि जिल्ला केन्द्रीत आन्दोलन स्थगित भएको मिलगेट उखु उत्पादक समिति सर्लाहीका अध्यक्ष राजकुमार उप्रेतीले जानकारी दिए ।उनका अनुसार अन्य जिल्लाका उखु उत्पादक किसानहरुका प्रतिनिधिहरुसँग पनि समन्वय गरी अब काठमाडौंमै गएर आन्दोलन गर्ने निर्णय गरी जिल्लाको आन्दोलन तत्कालका लागि आज(बिहीबार)बाट रोकिएको हो ।
काठमाडौंमा सांसदहरुसहित सम्वद्ध मन्त्रालयमा डेलिगेसन जाने र यदि त्यसो गर्दा पनि उखु उत्पादक किसानहरुका माग सम्वोधन नभए माइतीघर मण्डलामा धर्नामा बस्ने निर्णय गरि जिल्ला केन्द्रीत आन्दोलन स्थगित गरिएको नेपाल उखु उत्पादक किसान महासंघका अध्यक्ष कपिलमुनी मैनालीले जानकारी दिए ।उनका अनुसार सरकारले बुधबार चालु सिजनका लागि उखुको मूल्य प्रतिक्विन्टल सरकारी अनुदान ७० रुपियाँ सहित रु छ सय ३५ तोकेको भएपनि उखु उत्पादक किसानहरुले त्यसमा समेत असहमती जनाएका छन् ।
चिनीमा वृद्धि भएको मूल्यलाई आधार मानेर उखुको मूल्य प्रतिक्विन्टल रु सात सय ५० कायम गर्न उखु उत्पादक किसानहरुले माग गरि रहेका उखु उत्पादक किसान अगुवा ताराराज पन्त(अर्जुन)ले जानकारी दिए ।उखु किसान संयुक्त संघर्ष समितिले आज(बिहीबार) एक प्रेस विज्ञप्ती जारी गर्दै घोषित अनुदानको रकम उखु उत्पादक किसानहरुले उखु बिक्रि गरेको कति समय पछि पाउने भन्ने सुनिश्चितता गर्न माग गरेका उखु किसान अगुवा रामशरण उप्रेतीले बताए । उनका अनुसार सरकारले उखुको मूल्य तोक्दा अनुदान रकम तोकेपनि वर्ष दिन बित्दा समेत अनुदान रकम नपाउने गरेको भन्दै जिल्लाका उखु उत्पादक किसानहरु आन्दोलीत भएका हुन ।
मंसिर २६ गतेबाट चालु सिजनको क्रसिङ सुरु गर्ने तयारी गरेको देशकै सबैभन्दा ठूलो इन्दुशंकर चिनी उद्योग हरिवनले उखु उत्पादक किसानहरुको आन्दोलका कारण क्रसिङ सुरु गर्न पाएको थिएन् । अब किसानहरुको आन्दोलन स्थगित भएपछि शुक्रबारबाटै उखु क्रसिङ सुरु गर्ने इन्दु शंकर चिनी उद्योग हरिवनका उखु प्रवन्धक योग नारायण राजकले जानकारी दिए ।उनका अनुसार मंसिर २६ गतेबाट चालु सिजनको उखुको क्रसिङ गर्ने तयारी स्वरुप केही चलान समेत वितरण गरि सकिएको भएपनि उखु उत्पादक किसानहरुको आग्रह अनुसार क्रसिङ रोकिएको थियो ।देशभरकै चिनी उद्योगहरु मध्य इन्दु शंकर चिनी उद्योगले गतवर्ष किसानहरुसंगबाट खरिद गरेको उखुको भुक्तानी गर्न बाँकी छैन् भने किसानहरुको आन्दोलनका कारण किसानहरुको खेत मै उखु सुक्न थालिसकेको छ ।

सम्बन्धित समाचार