सर्लाहीका पालिकाहरुमै गएर जनप्रतिनिधि तथा कर्मचारीसँग स्थानीय तहहरुमा वडाबाट हुने सिफारिस लगायत सेवा प्रवाहका सम्वन्धमा सुरक्षा निकायका पदाधिकारीले अन्तक्रिया गर्ने भएका छन् ।जिल्ला प्रशासन कार्यालय सर्लाहीमा भएको कार्यालय प्रमुखहरुको बैठकले जिल्लाका पालिकाहरुका वडाबाट प्रहरी तथा प्रशासनमा सिफारिस भएर आउने कतिपय सिफारिसमा कमि कमजोरी तथा समस्या देखिएको र सेवाग्राहीहरु दोहोर्याएर सिफारिस लिन जाँदा झन्झट भएको गुनासो आएकाले एक पटक सुरक्षा अधिकारी र जिल्ला समन्वय समितिका पदाधिकारीहरु आफै पालिकाहरुमा पुगेर सिफारिसका सम्वन्धमा यथाशिघ्र अन्तक्रिया गर्ने निर्णय भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले जानकारी दिए ।
उनका अनुसार कार्यालय प्रमुखहरुको बैठकमा आगलागीजन्य विपद् प्रभावित नीजि आवास पुननिर्माणका लागि बनेको कार्यविधिबारे प्रचार प्रसार तथा अभिमुखीकरण गर्ने,शितलहर प्रभावित बस्तीमा दाउरा वितरणका लागि डिभिजन वन कार्यालय सर्लाहीले प्रत्येक स्थानीय निकायलाई दुई चट्टा दाउरा प्रदान गर्ने लगायतका निर्णय भएका छन् ।
प्रमुख जिल्ला अधिकारी धमलाको अध्यक्षतामा बसेको बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे लगायत सुरक्षा अधिकारी र जिल्लाका कार्यालय प्रमुखहरुको उपस्थिति रहेको थियो ।बैठकमा जिल्लाका अन्य समसामायिक विषयमा पनि छलफल भएको जिल्ला प्रशासन कार्यालय मलंगवा सर्लाहीले जनाएको छ ।