महोत्तरीको गौशाला नगरपालिकाकी उप प्रमुख रेनुकुमारी चढ्ने सरकारी सवारीसाधनमा आगजनी भएको छ । शनिवार राति गौशाला नगरपालिका १ रामनगरस्थित नगर उप प्रमुख रेनुकाे निजी निवास अगाडी पार्किङ गरि राखिएको प्रदेश २–०२–००१ झ ०००५ नम्बरको सरकारी सवारीसाधनमा आगजनी भएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी प्रमुख एवम प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिए ।
‘उक्त सरकारी सवारीसाधनमा कसले र किन आगो लगाएको भन्ने विषयमा केही खुलेको छैन । पेट्रोल छर्किएर आगो लगाइएको छ । घटनास्थलबाट एउटा बोतल समेत बरामद भएको छ,’ प्रहरी निरीक्षक यादवले भने ‘उक्त सरकारी सवारीसाधनकाे अगाडि र पछाडिको टायरमा समेत आंशिक क्षति भएको छ ।’ घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक यादवले जनाए ।
यता नगर उप प्रमुख रेनुकुमारीले यथाशीघ्र घटनाको सुक्ष्म अनुसन्धान गरी अपराधीलाई पक्राउ गर्न माग गरेकी छिन् । ‘सरकारी सम्पत्तीमा आगलागी भएको छ । जनताको करले खरिद भएको सरकारी सवारीसाधनमा आगो लगाइएको छ । यस्ता अपराधीलाई तुरुन्त कारबाहीको दायरमा ल्याउन सरकारसँग माग गर्दछु,’ नगर उप प्रमुख रेनुकुमारीले भनिन् ।
गाैसला नगरपालिकामा नगर प्रमुख र उप प्रमख विच सामान्य विषयमा पनि विवाद हुदै आएकाे जनप्रतिनिधिहरुले बताएका छन् । नगर प्रमुख दिपेन्द्र महताे र उप प्रमुख रेनुकुमारी विच नगरका विकास निर्माणका विषयहरुका साथै नगरसञ्चालनका विषयमा पटक पटक वादिववाद भएको स्थानिय जनप्रतिनिधिहरुले बताएका छन् ।