सर्लाहीको हरिवन स्थित रहेको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख एवम प्रहरी निरिक्षक अनिलराज गिरी मंसिर महिनाको सर्लाहीको उत्कृष्ट प्रहरी घोषित भएका छन् ।ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख एवम प्रहरी निरिक्षक गिरीलाई “पुलिस अफ द मन्थ”घोषित गरी पुरस्कृति गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपेन्द्र पञ्जियार थारुले जानकारी दिए ।
सोमबार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा भएको जिल्ला भित्रका प्रहरी युनिट प्रमुखहरुको बैठकमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक प्रवीण धितालले प्रहरी निरीक्षक गिरीलाई प्रमाण–पत्र र नगदसहित पुरस्कृत गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायब उपरीक्षक थारुले जानकारी दिए ।
उनका अनुसार हरिवन नगरपालिका ११ बालगंगा स्थित मुस्लिम बस्तीकी तवसुन खातुनको शंकास्पद मृत्युमा गहन अनुसन्धान गरी विभिन्न प्रमाण संकलन गरेर मृतककी आमा सकिना खातुनलाई पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन सफल भएको र सोही घटनासँग जोडिएको शेख मिर हमजा(शेष चाँद)ले झुठा विवरण पेश गरी नागरिकता तथा राहदानी लिएको घटनामा समेत अनुसन्धान गरी कारवाही प्रक्रिया अघि बढाउन सफल भएको भन्दै जिल्ला प्रहरीले प्रहरी निरीक्षक गिरीलाई उत्कृष्ट घोषणा गरेको हो ।
प्रहरी निरीक्षक गिरीलाई प्रहरी संगठनको रेकर्डमा जनिने गरी पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक धितालले बताए ।उनले जिल्लाका सबै प्रहरी युनिटका प्रमुखहरुको उपस्थितिमा भएको सम्मान कार्यक्रमले अरु प्रहरी अधिकारीहरुमा पनि उर्जा तथा प्रोत्साहनका मिल्ने बताएका छन् । सकिना र हमजा दुवै पूर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।