बालकुमारी घटनालाई लिएर ललितपुरका प्र.जि.अ.गृह मन्त्रालय र प्र.व.उ.साह हेडक्वार्टर तानिए,डिआइजी आचार्यको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति

957 Shares

बालकुमारीमा भएको घटनालाई लिएर गृह मन्त्रालयले ललितपुरका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रहरी प्रमुख एवम प्रहरी वरिष्ठ उपरीक्षकलाई फिर्ता बोलाएको छ ।शनिबार उपप्रधान एवम गृहमन्त्री स्तरीय निर्णय गर्दै ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलाई गृह मन्त्रालय र ललितपुरका प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालय तानिएको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरी प्रमुख हुँदा तत्कालीन प्रहरी उपरिक्षक शाहले पत्रकारलाई लागु औषध राखेर फसाएको अरोपमा निलम्वन गरि अनुसन्धान गरिएको भएपनि कार्बाही भएन् ।तत्कालिन गृहमन्त्री खुमबहादुर खड्काले राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा समायोजन भई आएका प्रहरी वरिष्ठ उपरिक्षक साहको कार्यक्षमतामाथि पटक पटक प्रश्न उठाएका थिए ।
शुक्रबार भएको बालकुमारी घटनाको विषयमा छानविन समितिले काम गरिरहेको भन्दै मन्त्रालयले छानविन समितिको प्रतिवेदन प्राप्त भएपछि सोही बमोजिम कार्यान्वयन गर्ने बताएको छ ।छानविन समितिको कामलाई वस्तुनिष्ठ बनाउन घटनास्थलमा सुरक्षा कमाण्डको जिम्मेवारीमा खटिएका जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायव उपरीक्षक उमेश लम्साल,रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखा कार्यालयका निर्देशक गुरुदत्त सुवेदी र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाका सुरक्षागार्ड प्रहरी सहायक निरीक्षक बोधराज दनुवारलाई निलम्बन गर्ने निर्णय भएको मन्त्रालयका सह सचिव एवम प्रवक्ता नारायण भट्टराईले जानकारी दिए ।
महाराजगंज वृत्तको प्रमुख हुँदा मध्यरातमा सडकको बीचमा डाक्टर कुटेको भन्दै प्रहरी नायव उपरिक्षक लम्साल विवादित भएका थिए ।त्रिवि शिक्षण अस्पताल महाराजगन्ज र कान्ति बाल अस्पतालका डाक्टर कुटपिट प्रकरणपछि प्रहरी नायव उपरिक्षक लम्साललाई महानगरीय प्रहरी कार्यालय रानीपोखरी तानेर अनुसन्धान गरिएको थियो ।
रोजगार अनुमति प्रणाली (ईपीएस) को आवेदन फाराम भर्न नपाएको भन्दै असन्तुष्ट युवाहरुको समूहले शुक्रबार बालकुमारीस्थित रोजगार अनुमति प्रणाली (ईपीएस) कार्यालय अगाडि प्रदर्शन गरेका थिए भने भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वाला चढ्ने बा २ झ ५८६१ नम्बरको सरकारी गाडीमा आगजनी समेत गरेका थिए ।सो क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो।त्यसक्रममा प्रहरीको गोली लागेर र प्रहरीको कुटपिटबाट अछामको चौरपाटी गाउँपालिका १ का २१ वर्षीय वीरेन्द्र शाह र दैलेखको महाबु गाउँपालिका ६ का २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो ।
यो घटनाको सत्यतथ्य छानबिन गर्न गृहमन्त्रालयले शुक्रबार नै नेपाल प्रहरीका डीआईजी लालमणि आचार्यको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति समेत गठन गरिसकेको छ ।अन्य सदस्यमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धानका अनुसन्धान उप निर्देशक बासु सिग्देल रहेका छन् ।यता, अदालतले परीक्षामा सामेल हुन नपाएका सबै विद्यार्थीहरुलाई परीक्षामा सामेल गराउन निर्देशन दिएको छ । 

सम्बन्धित समाचार