सर्लाहीको बागमती नगरपालिकाले निःशुल्क जाँच तथा अप्रेशनको लागि छनौट शिविर सञ्चालन गर्ने भएको छ।पुस १५ गते आईतबार (भोलि) बागमती नगरपालिकाको स्वास्थ्य शाखाको आयोजना र रिप्पल नेपाल चितवनको प्राविधिक सहयोगमा निःशुल्क जाँच तथा अप्रेशनको लागि छनौट शिविर सञ्चालन गर्ने तयारी भएको बागमती नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक पदम रायमाझाीले जाकनारी दिए ।
उनका अनुसार बागमती नगरपालिका भित्रका महिलाहरुको प्रजनन् स्वास्थ्य सम्बन्धी रोगको परिक्षण गरी अप्रेशन गर्नु पर्ने बिरामीहरुको लागि निःशुल्क अप्रेशन सहितको स्वास्थ्य शिविर सञ्चालन गरिने भएको हो ।पुस १५ गते आईतबार(भोलि) हुने निःशुल्क स्वास्थ्य परिक्षण शिविरमा पाठेघरको मुखको क्यान्सर जाँच,पिसाब चुहिने रोगको पहिचान र उपचार,आङ खस्ने(पाठेघर खस्ने)समस्याको प्रतिरोधात्मक उपचार,परामर्श र अप्रेशन,स्त्री रोग सम्बन्धी परिक्षण (पाठेघरको जाँच) र परामर्श,पाठेघरको मुखको परिक्षण र परामर्श,पाठेघरको मुखको क्यान्सरको पुर्व पहिचान, थरमो कुगुलेशन र फिस्टुलाको अप्रेशन गरिने नगर स्वास्थ्य शाखाले जनाएको छ ।
बागमती नगरपालिका ५ सोल्टीबजार स्थित जनता नमुना मा.विको प्राङ्गणमा दिउँसो ४ बजे सम्म सञ्चालन हुने शिविरमा महिला सम्बन्धी सम्पूर्ण रोगको जाँच तथा उपचार समेत गरिने भएको छ ।नगरपालिकाको स्वास्थ्य शाखाले निःशुल्क शिविरमा सहभागी भएर स्वास्थ्य लाभ लिन नगरबासी समक्ष अनुरोध समेत गरेको छ ।