सर्लाही प्रहरीले जवरजस्ती करणी आरोपको जाहेरी दर्ता नगरेको पीडित परिवारले गुनासो गरेका छन्।असारदेखि पटक पटक जवरजस्ती करणीको सिकार भएकी नावालिकाले जवरजस्ती करणी आरोपको जाहेरी लिएर ईलाका प्रहरी कार्यालय लालबन्दी जाँदा प्रहरीले कुटपिटको मिलापत्र गराएको पीडित परिवारको गुनासो छ ।पुस ३ गते मंगलबार दिउँसो खाजा खान जाउँ भनी ललाई फकाई गरी लालबन्दी नगरपालिका ६ स्थित रहेको भण्डारी होटल एण्ड गेष्ट हाउसमा लगि जवरजस्ती करणी गरि सार्वजनिक स्थलमा कुटपिट समेत गरेको आरोपमा ईलाका प्रहरी कार्यालय लालबन्दीमा जाहेरी दिन जाँदा प्रहरीले जवरजस्ती करणीको जाहेरी नलिएको र कुटपिटमो मिलापत्र गराएको पीडित बालिकाकी आमा रीत माया लुंगेलीले गुनासो गरिन् ।
लालबन्दी नगरपालिका १७ रानीगंजका अन्दाजी २० वर्षिय एक युवाले आफ्नी करिब १८ वर्षिय नावालिका छोरीलाई पुस ३ गते मंगलबार दिउँसो खाजा खान जाउँ भनी ललाई फकाई गरी लालबन्दी नगरपालिका ६ स्थित रहेको भण्डारी होटल एण्ड गेष्ट हाउसमा लगि जवरजस्ती करणी गरेका र उनले काम गर्ने स्थानीय एक फार्मेसीमा पटक पटक कुटपिट समेत गरेका पीडित परिवारको भनाई छ ।
जवरजस्ती करणीको जाहेरी लिएर ईलाका प्रहरी कार्यालय लालबन्दी जाँदा प्रहरीले कुटपिटको मिलापत्र गराएको र जवरजस्ती करणीको सम्बन्धमा पिडक युवाले पीडित बालिकालाई २० वर्ष पुरा नहुँदा सम्म संरक्षण दिने र त्यसपछि सामाजिक परम्परा अनुसार विवाह गर्ने भन्दै पीडित पक्षलाई दवाव दिएर सहमती गराएको पीडित बालिकाकी आमा रीताले बताईन् ।
आफ्नी छोरी अध्ययनका लागि लालबन्दी नगरपालिका ६ मा सानीआमा दुर्गा मगरसंग वस्दै आएकी र आफुलाई पुस ८ गते सो विषयमा थाहा भएपछि छोरीलाई भेट्न आएको र छोरीले सो कुरा बताएपछि प्रहरीमा जवरजस्ती करणीको जाहेरी दिन गएको भएपनि प्रहरीले जाहेरी दर्ता नगरेपछि आफु थप पीडित भएको पीडित बालिकाकी आमा रीताले गुनासो गरिन् ।बहिनी दुर्गाले आफुलाई फोन गरेर बोलाएर छोरीले देखाएको अस्वभाविक व्यवहार सुनाएपछि छोरीलाई सोध्दा छोरी आफुमाथी भएको पटक पटकको सबै शोषण सुनाएपछि जाहेरी दिन जाँदा प्रहरीले पिडिकको आर्थिक तथा राजनीतिक दवावमा परेर जवरजस्ती करणीको जाहेरी दर्ता नगरेको पीडित परिवारको गुनासो छ ।
पीडित परिवारका अनुसार बालिका माथि ती युवाले असारदेखि पटक पटक शोषण गर्दै आएका,पीडित बालिकाको विभिन्न सामाजिक सञ्जालहरुबाट चरित्र हत्या गर्ने गरेका,स्थानीय फार्मेसीमा काम गर्न जाँदा पीडित बालिकालाई पटक पटक कुटपिट गर्ने गरेका,पीडित बालिका मानसिक रुपमा विछिप्त भएकी,पिडक युवाले पीडित बालिकालाई आफुले गरेका कामहरुको अरुलाई सुनाएमा ज्यान मार्ने सम्मको धम्की दिने गरेका साथै पुस ६ गते पीडित परिवारलाई दवावमा पारेर ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक हरिबोल केसी र लालबन्दी नगरपालिका १७ का निवर्तमान वडा अध्यक्ष नवराज अधिकारीले कुटपिटको मिलापत्र गराएका थिए ।
पीडित बालिकालाई पिडक युवाले संरक्षण गर्ने लिखित सहमती भएको र लालबन्दी नगरपालिका १७ का निवर्तमान वडा अध्यक्ष अधिकारीको रोहबरमा पिडक युवालाई ईलाका प्रहरी कार्यालय लालबन्दी २४ घण्टापछि हिरासत मुक्त गरेको थियो ।लालबन्दी नगरपालिका १७ का निवर्तमान वडा अध्यक्ष अधिकारीको रोहबरमा सो सहमती पछि छाडिएका युवा फरार भएपछि आफुहरुले न्याय नपाउने निश्चीत भएको पीडित परिवारको गुनासो छ ।पिडक युवाका बुबा नेपाल प्रहरीका भुपु हबल्दार समेत रहेका कारण उनले समेत आफुहरुलाई विभिन्न किसिमका धम्कीहरु लाउने गरेको साथै प्रहरी कार्यालयबाट छुटे लगतै पिडक युवा फरार भएपछि आफुहरु बस्दै आएको घरमा युवा पक्षका मानिसहरु घेर्न आएका समेत पीडित पक्षको भनाई छ ।
आफ्नी नावालक छोरीलाई विभिन्न प्रलोभन तथा डर त्रास देखाई जवरजस्ती करणी गरेको हुँदा निजलाई मुलुकी ऐन अपराध संहिता २०७४ को परिच्छेद १८ को दफा २१९ बमोजिम पक्राउ गरी हदै सम्मको कारवाही गरी पाउँ भनी ईलाका प्रहरी कार्यालय लालबन्दीमा जाहेरी दिन गएको भएपनि प्रहरीले कुटपिटको मात्रै मिलापत्र गराएको र जवरजस्ती करणीको जाहेरी लिएर राखेको भएपनि दर्ता नगरेपछि जाहेरी फिर्ता माग्दा पनि नदिएको पीडित पक्षको भनाई छ ।कुटपिटको मिलापत्रमा पनि पिडक युवाले नै पीडित बालिकालाई आफ्नै घरमा लगेर राख्ने र २० वर्ष पुरा भएपछि सामाजिक परम्परा अनुसार विवाह गर्ने सहमती भएको भएपनि पिडक युवा फरार भएपछि आफुहरुले न्याय नपाउने सम्भावना बढेको पीडित परिवारको गुनासो छ । पीडित परिवारका अनुसार ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख एवम प्रहरी निरिक्षक हरिबोल केसी पिडक युवा र निवर्तमान वडा अध्यक्ष अधिकारीको चर्काे आर्थिक प्रलोभन र राजनीतिक दवावमा परेका कारण आफुहरुको जाहेरी दर्ता नगरेका आरोप लगाएका छन् ।
पीडित बालिकाकी आमा रीताले आफ्नी छोरीलाई सोध्दा उनले करिव २ वर्ष अगाडी सामाजिक सञ्जाल फेसबुकमार्फत लालबन्दी नगरपालिका १७ का एक युवासंग चिनजान भई साथीको रुपमा बोलचाल गर्दै आएको र पुस ३ गते खाजा खान जाउँ भन्दै मलाई ललाई फकाई लालबन्दी नगरपालिका ६ स्थित रहेको भण्डारी होटल एण्ड गेष्ट हाउसमा लगि जवरजस्ती करणी गरे भनी बताएकी छन् । यसका साथै पिडक युवाले पीडित बालिका काम गर्ने स्थानीय एक फार्मेसीमा गएर सार्वजनिक स्थलमा कुटपिट समेत गर्ने गरेको पीडित बालिकाको भनाई छ ।पटक पटक कुटपिट तथा करणी गरीसके पछी तैले यी सबै कुरा अरुलाई भनीस भने म तलाई जे पनी गर्न सक्छु भनी पिडक युवाले धम्की समेत दिएका पीडितको भनाई छ ।
यता,सो विषयमा बुझ्दा ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक केसीले युवाको भविष्यमा दाग लाग्ने भएकाले आफुले कुनैपनि हालतमा जाहेरी दर्ता नगर्ने बताए ।पीडितले जवरजस्ती करणीको जाहेरी ल्याएका भएपनि कुनै मानिसलाई फसाउन नहुने भन्दै आफुले जाहेरी दर्ता नगरेको प्रहरी निरिक्षक केसीले बताए ।उनले आफुले कुनै पनि हालतमा जाहेरी दर्ता नगर्ने बरु जिल्ला प्रहरी कार्यालय पठाईदिने समेत बताए ।सो विषयमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपेनद्र पञ्जियार थारु र प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक प्रवीण धिताललाई समेत जानकारी भएको भएपनि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट पनि सो जाहेरी दर्ता गराउन कुनै पहल नभएको पाइएको छ ।