सर्लाहीको लालबन्दी नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) प्रणालीमा उत्कृष्ट भएको छ ।लालबन्दी नगरपालिकाले ८० दशमलव पाँच प्रतिशत अंक पाएर उत्कृष्ट भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७÷०७८ को स्वमूल्यांकन (लिजा) रिपोर्टमा उल्लेख छ भने धनकौल गाउँपालिका जिल्लाका २० वटा स्थानीय तहहरु मध्य लिजामा प्रविष्ट भएका १६ स्थानीय तहहरुमा सबै भन्दा कमजोर देखिएको छ ।
स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) प्रणालीमा बरहथवा नगरपालिका ७३ प्रतिशत अंक सहित दोस्रो भएको छ भने हरिवन नगरपालिकाले ६५ दशमलव पाँच प्रतिशत,हरिपुर नगरपालिकाले ६१ प्रतिशत,इश्वरपुर नगरपालिकाले ६० दशमलव ७५ प्रतिशत,चन्द्रनगर गाउँपालिकाले ५६ दशलमव २५ प्रतिशत,कविलासी नगरपालिकाले ५५ दशमलव २५ प्रतिशत,चक्रघट्टा गाउँपालिकाले ५२ प्रतिशत,कौडेना र बसबरीया गाउँपालिकाले समान ४६ दशमलव २५ प्रतिशत,हरिपुर्वा नगरपालिकाले ४३ दशमलव २५ प्रतिशत,गोडैता नगरपालिकाले ३९ दशमलव ७५ प्रतिशत,विष्णु गाउँपालिकाले ३८ दशमलव ७५ प्रतिशत र बागमती नगरपालिकाले ३६ दशमलव पाँच प्रतिशत अंक पाएका छन् ।
जिल्लाको बलरा र मलंगवा नगरपालिका तथा पर्सा र रामनगर गाउँपालिका गरी चार वटा स्थानीय तहहरुको नतिजा स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) प्रणालीमा प्रविष्ट भएको छैन ।मन्त्रालयले १० वटा विषयगत क्षेत्रलाई सय पूर्णांक मानी प्रतिशतका आधारमा निकालिएको स्वमूल्यांकन नतिजामा धनकौल गाउँपालिकाले जिल्लाका स्थानीय तहहरु मध्य सबै भन्दा कमजोर देखिएको हो । धनकौल गाउँपालिकाले ३१ दशमलव २५ प्रतिशत मात्र अंक प्राप्त गरेको छ ।
लिजाले शासकीय प्रबन्ध,संगठन तथा प्रशासन,वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवम आर्थिक योजना व्यवस्थापन,सेवा प्रवाह, भौतिक पूर्वाधार विकास,सामाजिक समावेशीकरण,सहकार्य र समन्वयन,न्यायिक कार्यसम्पादन र वातावरण संरक्षण तथा विपद् व्यवस्थापन गरी १० वटा क्षेत्रलाई सय पूर्णांक मानी प्रतिशतका आधारमा नतिजा प्रकाशन गर्ने गरेको छ ।