ललितपुरको बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको भूमिकामाथि छानबिन गर्न प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले निर्देशन दिएको छ।समितिले दुई युवाको ज्यान जाने गरी शुक्रबार बालकुमारीमा भएको घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाको भूमिका माथि छानबिन गर्न निर्देशन दिएको हो ।

सिंहदरबारमा सोमबार बसेको समितिको बैठकले बालकुमारी घटनामा लापरबाही देखिएको निस्कर्ष सहित मन्त्री ज्वालामाथि छानबिनको निर्देशन दिएको हो ।त्यसअघि बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ(प्रकाश) र प्रहरी महानिरीक्षक(आईजिपी) बसन्त बहादुर कुँवरले मन्त्री ज्वालाको उपस्थितिका कारण प्रदर्शन उग्र भएको बताएका थिए ।काँग्रेस महामन्त्री गगनकुमार थापासहित केही सांसदले प्रदर्शन भइरहेको जानकारी हुँदाहुँदै हेपाहा प्रवृत्ति देखाएर मन्त्री ज्वाला त्यही बाटो गाडी लिएर गएको भन्दै उनीमाथि छानबिन हुनुपर्ने माग राखेका थिए ।यस्तै बैठकले साउनदेखि उत्पन्न इपिएस समस्या समाधानमा ध्यान नदिएको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीमाथि पनि छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ ।
‘घटना घट्न श्रम,रोजगार तथा सामाजिक मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र दुवै मन्त्रीहरुको भूमिका बारेमा समेत छानबिन गर्न निर्देशन दिने’,बैठकले निर्णय गरेको समिति सभापति रामहरी खतिवडाले जानकारी दिए ।बालकुमारीमा शुक्रबार भएको घटनामा दुई जना युवाको मृत्यु भएको थियो ।