सर्लाहीको लालबन्दी नगरपालिका ८ मा रहेको सामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक बचतकर्ताहरुको रु तीन करोड भन्दा बढी रकम हिनामिना गरि सम्पर्क विहिन भएका छन् ।संस्थाका अध्यक्ष समेत रहेका लालबन्दी नगरपालिका ८ का निवर्तमान वडा अध्यक्ष एवम जल्केश्वर निर्माण सेवा प्रा.लिका सञ्चालक राजन कुमार श्रेष्ठ र सहकारीका प्रवन्धक धन बहादुर श्रेष्ठले सहकारीको रु तीन करोड आठ लाख भन्दा बढी रकम हिनामिना गरि सम्पर्क विहिन भएका बचतकर्ताहरुको आरोप छ ।
सहकारीमा आफुहरुले दुःख गरेर जम्मा गरेको रकम हिनामिना गरि अध्यक्ष श्रेष्ठ नै सम्पर्क विहिन भएपछि बचतकर्ताहरु अलमलमा परेका छन् ।जिल्ला अदालतमा उजुरी गर्न पुगेका बचतकर्ताहरुलाई केही स्थानीय मानिसहरुले पहिलो पटक बसेर छलफल गर्नूपर्छ उजुरबाजुर गरेर समस्या समाधान भै हाल्ने होईन ।गाउँ घरको कुरा हो बसेर छलफल मार्फत समस्या समाधान गर्नुपर्छ भन्दै उजुरी पेश गर्न नदिई फर्काएपछि सो रहस्य बाहिरिएको हो ।
करिब चार हजार बचतकर्ताहरुले ५/६ बचत गरेको रकम हिनामिना गरि सहकारीका अध्यक्ष श्रेष्ठ सम्पर्क विहिन भएका बचतकर्ताहरुको गुनासो छ ।समस्या पर्दा खर्च गर्न पाईन्छ भनेर आफुहरुले खाइ नखाई बचत गरेको रकम अहिले कहाँ छ थाहै छैन् ।एक बचतकर्ताले गुनासो गरे ।
सहकारीबाट ऋण लिएकाहरुको पनि ऋण चुक्ता भई सक्दापनि अझैँ ऋण चुक्ता भएको छैन् भन्दे दोब्बर रकम असुलेको समेत पाइएको छ ।ऋण लिँदाका बखत नियमानुसार धितो राखेर ऋण लिँदा गरेको सर्त अनुसार आफ्नो हिसाबले ऋण चुक्ता भई सकेको भएपनि सहकारीका प्रवन्धकले तपाईको ऋण चुक्ता भएको छैन भन्दै दोब्बर रकम लिएका समेत एक ऋणीले गुनासो गरे । अझैँ धेरै रकम चुक्ता गर्न बाँकी छ भन्दै आफुलाई पटक पटक ताकेदा गरी मानसिक तनाव दिएका उनले बताए ।
नेवारी समुदाय मिलेर खोलिएको सहकारीले स्थानीय बचत कर्ताहरुको दैनिक बचत तथा ऋण खाए वापतको रकममा स्थानीय धेरै जनालाई अनावश्यक दुःख दिएको पीडितहरुको गुनासो छ भने सहकारीमा दैनिक बचत कर्ताहरुको तथ्यांक समेत छैन् । करिब तीनहजार सात सय बचत कर्ताहरुको रकम पनि हिनामिना भएको भन्दै बचत कर्ताहरु निराश भएका छन् । सो तथ्यांक र विषयमा वुझ्न सहकारीका प्रवन्धक धनबहादुरलाई पटक पटक फोन गर्दापनि उनले फोन उठाएनन् भने संस्थाका अध्यक्ष समेत रहेका लालबन्दी नगरपालिका ८ का निवर्तमान वडा अध्यक्ष एवम जल्केश्वर निर्माण सेवा प्रा.लिका सञ्चालक राजनले कसको पैसा कसले संकलन गरेको हो ?उसैसंग पहिला बुझ्न र सहकारीले २०७७ सालबाटै आर्थिक करोवार नगर्ने निर्णय गरेको समेत बताए ।