सर्लाहीको बरहथवा नगरपालिका ६ स्थित रहेको १५ शैयाको प्राथमिक स्वासथ्य केन्द्रलाई स्तरोन्नती गरी ५० शैयाको अस्पताल बनाउने विषयको विवादमा भएको झडपमा शुक्रबार दिउँसो प्रहरीको गोली लागेर मृत्यु भएका बरहथवा नगरपालिका ६ का अन्दाजी वर्ष ३० का जयशंकर प्रसाद साहको शव शनिबार(आज) रातभर पनि घटनास्थलमै रहने भएको छ ।
शव व्यवस्थापन गर्ने र प्रदर्शन रोक्ने विषयमा आज(शनिबार) साँझ अबेरसम्म इलाका प्रहरी कार्यालय बरहथवाको परिसरमा प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलासहित जिल्लाका सुरक्षा अधिकारी,पीडित पक्ष र आन्दोलनरत पक्षको सहभागितामा भएको छलफलमा कुनै निष्कर्ष ननिस्किएपछि मृतकको शव दोस्रो रात पनि घटनास्थलमै रहने भएको हो ।
भोली(आईतबार) बिहान ८ बजेपछि पुनः छलफल गर्नेगरी आजको छलफल स्थगित भएको छलफलमा सहभागी एक नेताले जानकारी दिए । शुक्रबार दिउँसो करिव ३ बजे गोली लागेर मृत्यु भएका युवकको शव बरहथवा नगरपालिका ५ स्थित विद्युत् प्राधिकरण कार्यालय नजिकैको चोर्निया पुलमै प्रदर्शनकारीहरुको नियन्त्रणमा रहेको छ ।
पीडित परिवारले नगर प्रमुख कल्पना कुमारी कटुवालको राजिनामा सहित कार्बाही गर्नुपर्ने,इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी प्रमुख एवम प्रहरी नायव उपरिक्षक गांगा बहादुर थापालाई निलम्वन गर्नुपर्ने,गोली चलाउने र आदेश दिनेलाई निलम्बन गर्नुपर्ने,मृतकलाई शहिद घोषणा गर्नु पर्ने,५० शैयाको प्रादेशिक अस्पताल कायम गर्नु पर्ने,अस्पतालको नामाकरण मृतकको नाममा हुनु पर्ने,मृतकको शालिकलाई नेपाल बैँक चोकमा र अस्पतालमा राख्नु पर्ने,मृतकको परिवारका १ जनालाई सरकारी जागिरको व्यावस्था गर्नुपर्ने र उच्च स्तरिय न्यायिम समिति गठन गरि सत्य तथ्य छानविन गरी दोषीलाई कार्वाही गर्नु पर्ने पीडित पक्षले प्रमुख जिल्ला अधिकारी धमला समक्ष माग राखेका र सो माग सम्बोधन नहुँदा सम्म युवकको शव घटनास्थलबाट नउठाउने अडान लिएका छन्
सरकारले छानविन टोली गठन गरेर मृतकको परिवारलाई रु १० लाख राहत प्रदान गर्ने निर्णय गरिसकेको भए पनि बरहथवा क्षेत्र शान्त बन्न सकेको छैन ।भने शनिबार साँझ बरहथवा घटनालाई लिएर नेपाली कांग्रेस र उसको भातृ संगठन तरुण दलले जिल्लाभर राँके जुलुस सहित प्रदर्शन समेत गरेको छ ।