भरतपुर महानगरपालिकाले दुधमा रु १५ करोड अनुदान दिएको नगर प्रमुख दाहालको भनाई

2.1k Shares

चितवनको भरतपुर महानगरपालिकाकी नगर प्रमुख रेनु दाहालले कृषि क्षेत्रको विकासमा सबैको हातेमालो आवश्यक रहेको बताएकी छन्।नेपाल पशुपन्छी औषधी व्यवसायी संघको १४ औँ राष्ट्रिय महाधिवेश उद्घाटन गर्दै नगर प्रमुख दाहालले देशको मेरुदण्ड कृषि भएकाले यसको विकासमा सबैको हातेमालो आवश्यक रहेको बताएकी हुन ।
उनले कृषि क्षेत्रको विकासका लागि स्थानीय सरकार प्रमुखको हैसियतले आवश्यक मागलाई पुरा गर्ने र सहजीकरण गर्ने समेत बताईन् ।कोभिड १९ पछि कृषि क्षेत्रमा पनि असर परेको र कृषि क्षेत्र अहिले थिलोथिलो अवस्थामा रहेकाले सबैको जोडबलले कृषिलाई पुरानो अवस्थामा फर्काउन सकिने समेत उनले बताईन् ।
भरतपुर भ्रमण वर्ष २०२४ लाई सहयोग पुराउने गरी भरतपुरमा महाधिवेश गरी यहाँको आन्तरीक पर्यटनमा सहयोग पुर्याएको प्रति आयोजक कमिटिलाई नगर प्रमुख दाहालले धन्यवाद समेत दिईन् ।उनका अनुसार भरतपुर भ्रमण वर्ष २०२४ सडकहरु निर्माणधीन रहेकाले केही समय पछि धकालिएको भएपनि पूर्वनिधारित तालिका अनुसार अघि बढेको छ ।
भरतपुर दूधमा आत्मनिर्भर,पोल्ट्रीको राजधानी र देशमा सबैभन्दा धेरै दूधमा अनुदान दिने पहिलो स्थानीय सरकार रहेको समेत नगर प्रमुख दाहालले बताईन् ।नगर प्रमुख दाहालले दूधमा प्रति लिटर रु तीन अनुदान दिदाँ अहिलेसम्म महानगरपालिकाले रु १५ करोड दुग्ध कृषकलाई अनुदान उपलब्ध गराएको बताइन् ।
भरतपुर महानगरपालिकाले कृषि क्षेत्रमा राम्रो फड्को मारेको भएपनि यो अझै पर्याप्त नभएको उनको भनाई छ ।महाधिवेशमा देशभरका करिब दुई हजार पशुपन्छी औषधी व्यवसायीहरुको सहभागिता रहेको छ ।महाधिवेशन मंगलबार र बुधबार गरी दुई दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।मंगलबार खुल्ला सत्र सकिएको छ भने बुधबार(भोलि)बन्द सत्रसँगै नयाँ कार्यसमिति चयन गर्ने तालिका रहेको आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार