सर्लाहीका जंगलहरुबाट पछिल्लो चालु आर्थिक वर्षको हाल सम्म अवैधरूपमा काठ चोरी निकासी गर्ने आठ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ ।डिभिजन वन कार्यालय सर्लाहीले अवैध रूपमा काठ ओसारपसार र चोरी निकासीको आरोपमा चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो चौमासिकमा तीन वटा मुद्दामा करिब ५६ दशमलव २४ क्युविफिट काठसहित आरोपीलाई पक्राउ गरेको डिभिजन वन कार्यालय सर्लाहीका सुचना अधिकारी राकेश रन्जन दासले जानकारी दिए ।
उनका अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ को साउनमा देखि कार्तिक सम्ममा आठ जनाविरुद्ध मुद्दा दर्ता भएको र ५६ दशमलव २४ क्युविफिट काठ बरामद् भएको हो ।काठ चोरी तस्करी गर्ने कार्यमा संलग्न रहि नियन्त्रणमा लिएका आठै जनामाथि कार्बाही प्रक्रिया अघि बढाईएको डिभिजन वन कार्यालय सर्लाहीका कार्यालय प्रमुख मन्जुर अहमद्ले बताए ।
उनका अनुसार चालु आर्थिक वर्षको चार महिनामा अवैधरूपमा काठ चोरी निकासी गर्ने मानिसहरुलाई पक्राउ गरी तीन वटा मुद्दा दर्ता गरिएको र एउटा मुद्दा दर्ता प्रक्रियामा रहेको छ ।अवैध काठ चोरी निकासीको आरोपमा पक्राउ पर्नेमा केही स्थानीय सःमिल सञ्चालकहरु समेत रहेका डिभिजन वन कार्यालय सर्लाहीले जनाएको छ ।“चार महिनामा तीनवटा घटनामा संलग्न आठजनालाई पक्राउ गरेका छौँ,अरुमाथि निगरानी बढाएका छौँ,विभिन्न कठिनाइका बाबजुद वन संरक्षण र चोरी निकासी नियन्त्रणका लागि हामी नयाँ रणनीतिसहित अगाडि बढेका छौँ”,कार्यालय प्रमुख मन्जुरले भने,
डिभिजन वन प्रमुख मन्जुरले पछिल्लो समयमा वन मासिदै गएको र अवैध चोरी निकासीका कारण राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले थालेको अभियानमा समेत प्रभाव परेको बताए । उनले काठ चोरी तस्करी र वन क्षेत्रको अतिक्रमणलाई नियन्त्रण गर्न सबैको सहयोग जरुरी रहेको बताए साथै करिब ५६ दशमलव २४ क्युफिट काठसमेत बरामद गरिएको कार्यालयले जनाएको छ ।
सामुदायिक वन उपभोक्ता महासंघ सर्लाहीका अध्यक्ष सिताराम पोख्रेलले महासंघले वन तथा वन पैदावारको संरक्षण गर्न समुदायमा सचेतना अभिवृद्धि र चोरी निकासी नियन्त्रणका लागि सधैँ सहयोगी भूमिका निर्वाह गरिरहेको बताए ।“संरक्षणका काममा महासंघ वन कार्यालयहरुसंग सधैँ साथमा साथ र हातमा हात मिलाउन तयार छ”,उनको भनाई छ ।“वन क्षेत्र विस्तार तथा अतिक्रमित क्षेत्र फिर्ता लगायतका काममा वन कार्यालयले नेतृत्व गरोस् भन्ने हाम्रो चाहना हो।”उनको भनाई छ ।
वन अतिक्रमण र चोरी निकासी मुख्य समस्या
मधेश प्रदेशको आठ जिल्लामध्ये सर्लाहीमा २३ दशमलव ४८ प्रतिशत वन क्षेत्र रहेको छ । यस जिल्लामा कुल क्षेत्रफल एक लाख २५ हजार नौ सय ४८ हेक्टरको २९ हजार पाँच सय ७१ हेक्टर वन अर्थात २३ दशमलव ४८ प्रतिशत वन क्षेत्र रहेको छ भने त्यसमध्ये छ सय ३७ हेक्टर अतिक्रमण गरिएको डिभिजन वन कार्यालय सर्लाहीको तथ्यांकमा उल्लेख गरिएको छ ।“अतिक्रमण र चोरी निकासी यहाँको वन संरक्षणका लागि मुख्य समस्या हो”,डिभिजन वन प्रमुख अहमद्ले बताए ।“४० वर्ष अघिदेखि पटक/पटक गरी छ सय ३७ हेक्टर वन अतिक्रमण भएको छ भने पछिल्लो समयमा पाँच सय ५० हेक्टर अतिक्रमित वन क्षेत्र फिर्ता गर्न सफल भएको कार्यालयले जनाएको छ ।
विगतमा देशमा रहेको असहज परिस्थितिको समयमा राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा अतिक्रमण भएको,अतिक्रमणकारीहरु विभिन्न राजनितिक दलहरुको संरक्षणमा रहेका,विभिन्न संघ/संस्थाहरुले अतिक्रमणकारीहरुको पक्षमा वकालत तथा दवाव दिएका र अतिक्रमण गरि बसेको वन क्षेत्रमा सरकारी तथा गैर सरकारी संघ/संस्थाहरुबाट पुर्वाधार विकासमा अनुदान सहयोग उपलब्ध गराएका कारण सो क्षेत्र फिर्ता गर्न नसकिएको कार्यालयका सूचना अधिकारी दासले बताए ।
केही वर्षयता थप अतिक्रमण हुन नदिन उच्च सतर्कतासहित डिभिजन वन कार्यालयले काम गरिरहेको र अब बाँकी रहेको ८७ हेक्टर अतिक्रमित भूमि मुक्त गर्न कार्ययोजना बनाएर अगाडि बढ्ने बताए । जिल्लाको अधिकांश वन क्षेत्र उत्तर तर्फको चुरे र भावरमा पर्ने भएकाले त्यहाँको भौगोलिक संरचनाको संवेदनशीलतालाई मध्यनजर राखी संरक्षणमुखी व्यवस्थापन कार्यमा सामुदायिक वनले पनि सहयोग गरिरहेको डिभिजन वन कार्यालयले जनाएको छ।
संरक्षणका गतिविधिलाई जनस्तरसम्म पु¥याउन जिल्लामा रहेका सामुदायिक वन उपभोक्ता समिति र साझेदारी वन व्यावस्थापन समितिलाई थप परिचालन र यहाँ रहेका वन पैदावारमा आधारित उद्योगलाई समेत जिम्मेवार बनाउने गरी अभियानकै रूपमा कार्यक्रम अगाडि बढाउन सके चोरी निकासी नियन्त्रणमा टेवा पुग्ने सामुदायिक वन उपभोक्ता महासंघ सर्लाहीका अध्यक्ष पोख्रेलले बताए ।
जिल्लामा हाल चार सय ६६ भन्दा बढी वन पैदावारमा आधारित सःमिल तथा फर्निचर उद्योग, ८७ वटा सामुदायिक वन,१९ वटा कबुलीयती वन,तीन वटा साझेदारी,९१ वटा नीजि वन र दुई वटा धार्मिक वन रहेका छन् ।जस मध्य ५७ वटा सामुदायिक वनले चालु वार्षिक वर्षको कार्य योजना,साधारण सभा र लेखा परिक्षण गरि रहेका छन् भने ३० वटा सामुदायिक वन उपभोक्ता समितिहरु निष्क्रिय अवस्थामा रहेका डिभिजन वन कार्यालय सर्लाहीले जनाएको छ ।