सर्लाहीका किसानहरुले उत्पादन गरेको गोलभेँडाको मुल्य बढेपछि किसानहरुमा खुसियाली छाएको छ।जिल्लाको लालबन्दी स्थित रहेको कृषि थोक बजार व्यावस्थापन समितिले सञ्चालन गरेको कृषि बजारमा अहिले किसानहरुले गोलभेँडा प्रति क्रेट रु तीन सय ५० देखि रु छ सय सम्ममा विक्रि हुन थालेको कृषि थोक बजार व्यावस्थापन समिति लालबन्दीका व्यावस्थापक शम्भु प्रसाद घिमिरेले जानकारी दिए ।उनका अनुसार एक क्रेटमा २५ केजी गोलभेंडा हुने भएकाले किसानहरुले प्रतिकेजी रु १४ देखि २४ सम्म पाउन थालेका छन् ।
एक साताअघिसम्म किसानहरुले उत्पादन गरेको गोलभेंडा प्रतिक्रेट रु दुई सय ५० देखि तीन सय सम्ममा बिक्री हुने गरेको भएपनि यो हप्ताबाट गोलभेँडाको मुल्य बृद्धि भएको कृषि थोक बजार व्यावस्थापन समिति लालबन्दीका अध्यक्ष तोरण बहादुर मगरले जानकारी दिए ।उनका अनुसार अचार तथा तरकारीका लागि गोलभेंडाको प्रयोग बढेका कारण मुल्यपनि बढेको हो ।
अहिले काठमाडौंबाट पनि गोलभेंडाको माग बढ्न थालेको स्थानीय किसान राजगिर महतोले बताए । उनका अनुसार जिल्लाका किसानहरुले उत्पादन गरेको गोलभेंडाको भाउ काठमाडौँको कालिमाटी बजारमै निर्भर हुने र अहिले त्यहाँ मुल्य बढेका कारण गोलभेँडामा लगानी र मेहनत गरेका किसानहरु खुसी भएका हुन् ।
काठमाडौँको कालिमाटी बजारको माग बढ्ना साथ जिल्लामा गोलभेँडाको मुल्य वृद्धि हुने गरेको स्थानीय किसान रामपुकार महतोले बताए ।उनका अनुसार मेहनतको मुल्य पाएको भन्दै आफु लगायत जिल्लाका गोलभेँडा किसानहरु निकै खुसी भएका छन् ।अहिले गालभेँडाको सिजन भएकाले पनि खेतबारीमा गोलभेंडा पाकेर राताम्मे भएका किसान बद्री बरालले बताए ।उनका अनुसार किसानहरुले साइकल,मोटरसाइकल,टायरगाढा र अटो,मयुरीहरुमा गोलभेंडा बिक्री गर्न बजारसम्म ल्याउने गरेका किसान सुन्दर महतोले बताए ।
जिल्लाको लालबन्दीमा रहेको कृषि थोक बजारमा लालबन्दी,रानिगन्ज,हीरापुर,जियाजोर,चन्द्रपुर,नवलपुर,डाबरी,सासापुर,घुर्कौली,अत्रौलीका साथै महोत्तरीको खयरमारा लगायतका क्षेत्रमा किसानहरुले व्यावसायिक रुपमा गोलभेंडा खेती गर्ने गरेका छन् ।किसानहरुले लालबन्दीको बजारमा ल्याएर बिक्री गरेको गोलभेंडा काठमाडौँ,पोखरा,भैरहवा,बुटवल,नारायणगढ,हेटौँडा,गौर,वीरगन्ज,विराटनगर,धरानका साथै मन्थली,चरिकोटा र सिन्धुली लगायत सहरका बजारहरुमा निकासी हुने गरेको कृषि थोक बजार व्यावस्थापन समिति लालबन्दीले जनाएको छ ।
भने कृषि थोक बजार व्यावस्थापन समिति लालबन्दीले चालु आर्थिक वर्षको साउन देखि पुस सम्मको मासिक विवरण समेत तयार पार्न सकेको छैन् ।अघिल्लो आर्थिक वार्षहरुमा मासिक रुपमा विवरण तयार हुने गरेको भएपनि यस पटक मासिक विवरण तयार नहुँदा मासिक रुपमा कति बराबरको तरकारी निकासी भएको छ भन्ने तथ्यांक नै बजार समितिसंग छैन् । नत दैनिक तरकारीको मुल्य सुचि नै रहेको छ ।
अघिल्लो आर्थिक वर्षहरुमा बजार सुरक्षागार्डहरुले निकासी रसिद काट्ने तथा विवरण ड्राफ बनाउने गरेको कारण मासिक रुपमा विवरणहरु सार्वजनिक हुने गरेको भएपनि यस पटक बजार सुरक्षा गार्डहरुले सुरक्षा तर्फको मात्रै काम गरेका र प्रवन्धक र कम्प्युटर अपरेटर(प्राविधिक) कर्माचारीहरुले जिम्मेवारीका साथ काम नगरेका कारण चालु आर्थिक वर्षको ६ महिना बितिसक्दा पनि मासिक विवरण तयार हुन नसकेको कृषि थोक बजार व्यावस्थापन समिति लालबन्दीले जनाएको छ ।