सर्लाहीको लालबन्दी नगरपालिका ५ शान्ती टोलका युवा मोहन बस्नेतले १७ कठ्ठा जमिनमा फलफुल तथा नर्सरी बनाएर बिरुवा उत्पादन गरेर मनग्य आम्दानी गरेका छन् ।इच्छाशक्ति भए थोरै जमिनमा पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका बस्नेतले २०५७ सालबाट फलफुल तथा नर्सरीको काम सुरु गरेका हुन ।
करिब २३ वर्षदेखि फलफुल तथा नर्सरीमा लाग्नु भएका बस्नेत २०५७ सालमा काम खोज्दै जाँदा नर्सरी मै काम पाएको र त्यँही सिकेर आफुले चार वर्षपछिबाट आफ्नै नर्सरी बनाएर काम सुरु गरेको सुनाए । रु २५ लाखबाट सुरु गरेको फलफुल तथा नर्सरी खेती अहिले करिब रु एक करोड ५० लाख भन्दा बढीको भएको र त्यही फलफुल तथा नर्सरीबाट भएको कमाईले आफुले गाडिघोडा किनेको,घर घरेडी जोडेको र छोराछोरीलाई पठाएको बस्नेतले बताए ।
सुरुमा स्थानीय र विभिन्न बैँकहरुबाट रु २५ लाख ऋण लिएर फलफुल तथा नर्सरी खेती सुरु गरेका बस्नेतले अहिले १५ जनालाई रोजगारी दिए ।फलफुल तथा नर्सरी खेतीको कुनै पनि तालिम नलिए पनि काम गर्दा गर्दै सिकेको र अहिले आफुले देशका मुख्य शहरहरु जस्तै ःकाठमाण्डौँ,पोखरा,बुटवल,भैरहवा,नारायणघाट,हेटौँडा र विराटनगरका साथै अन्य धेरै शहरहरुमा आफ्नो फलफुल तथा नर्सरीमा उत्पादन भएका फलफुल तथा नर्सरीका विरुवाहरु बिक्रि गर्ने गरेको उनले सुनाए ।
पारिवारिक साथ पाउनु भएका बस्नेतले तरकारी बाहेक सबै प्रकारका फलफुलहरुका साथै नर्सरीका विरुवाहरु आफ्नै बगैँचामा उत्पादन गर्छन् । सिजनल फुलहरु करिब डेढ महिनामा र अन्य प्लान्टहरु करिब छ महिनाका साथै फलफुलहरुका विरुवाहरु करिब दुई वर्षमा तयार हुने र भारतिय तथा विदेशी फलफुलहरुका साथै नर्सरीका विरुवाहरु नेपालमा आयात हुँदा आफुहरुलाई प्रतिष्पर्धा गर्न कठिन भएपनि बजार खासै नराम्रो नरहेको उनको भनाई छ ।कोरोनाको विश्वव्यापी महामारी र देशमा देखिएको आर्थिक संकटले केही असर गरेपनि आफ्नो जीविका चलाउन कामदारहरुलाई मासिक पारिश्रमिक दिन कुनै समस्या नरहेको उनको भनाई छ ।
नेपाली किसानहरुले गरेको मेहनत,लागानी र लगानसिलतालाई विदेशी फलफुलहरुका साथै नर्सरीले निकै प्रभाव पारेको उनको ठहर छ ।छिमेकी देश भारतमा फलफुल तथा नर्सरी खेती गर्ने किसानहरुका लागि राज्यले ८० प्रतिशत सम्म अनुदान दिने गरेको र अवैध बाटोबाट नेपाल प्रवेश गर्दा आफुहरु राज्यको अनुदान विना व्यावसायीक रुपमा फलफुल तथा नर्सरी खेती गर्नेहरु मारमा परेको उनको गुनासो छ ।
“रासायनिक मल तथा विषादी हटाऔँ,जैविक खेतीको निर्माण गरौं ।” भन्दै सुरु गरेका फलफुल तथा नर्सरीमा स्वदेशी तथा विदेशी फलफुल तथा फलका सम्पूर्ण विरुवाहरु (जस्तैः आँप,लिची,बाह्रमासे कागती,बाह्रमासे आँप,बाह्रमासे कटहर,किवि,एभोकाडो,अँगुर),धार्मिक विरुवाहरु(जस्तैःबुद्धचित्त,श्रीखण्ड,रक्तचन्दन,पिपल,वर)लगायत अन्य धार्मिक विरुवाहरु उत्पादन भई रहेका छन् भने अफिस,घर,होटेल तथा कोठाहरु सजाउने फेन्सी विरुवाहरुका साथै कुनैपनि बिवाह तथा पार्टीहरुमा सजावटका लागि गमलाहरु पनि भाडामा उपलब्ध गराउने साथै आकर्षण बगैँचा निर्माण गर्नु परेमा बस्नेतले सेवा प्रवाह गरि रहेका छन् ।
उनले हामी नेपाली किसानहरुले उत्पादन गरेको फलफुलका साथै नर्सरीहरुको प्रचार प्रसार र राज्यको लगानी नहुँदा“कार्यालय र स्थानीय तहहरुमा सजावटका साथै बजारमा विभिन्न कार्यक्रमहरुमा पनि भारतिय फलफूल र नर्सरीको भर पर्नुपर्ने अवस्था छ”उनले बताए ।उनले “राज्यले आफु जस्ता स्वदेश मै केही गरौँ भनेर लागेका युवा व्यासायीहरुलाई बिऊ,मलका साथै प्राविधिक तथा आर्थिक सहयोग गरे अझैँ राम्रो हुने” बताए ।
“कोरोना महामारी पछि आर्थिक तरलताले व्यवसायमा केही मन्दी देखिए पनि व्यवसायमा निराश हुनुपर्ने अवस्था नरहेको”उनको भनाई छ ।फलफूलका बिरुवा उत्पादन गरी बिक्री वितरणका साथै माग गरेको स्थानमा ग्रिन हाउस,होटल तथा प्यालेसको सजावट तथा स्थानीय पालिकामा नर्सरी बनाउन जाने गरेका बस्नेतले सोही व्यवसायबाट भएको आम्दानीले जीविका चलाउने गरेको बताए ।
“व्यवसाय बढाउन फेरि जमिन भाडामा लिने योजना गर्दैछु,राज्यले अनुदान दिए थप सजिलो हुन्थ्यो”,उनले भने ।“मेहनत गरे घरपरिवारसंगैै बसेर जीविका चलाउन कुनै समस्या छैन।”गाउँ तथा नगरपालिका कार्यालय प्रायःसबैले नर्सरी सजावटका लागि फूलका बिरुवा,प्लान्ट खरिद गर्ने गर्नु भएको उनको भनाई छ ।
करिब २३ वर्ष देखि यही काम गर्दै आएका बस्नेतले कहीँकतैबाट पनि फलफुल तथा नर्सरीका लागि अनुदान÷सहयोग नपाएको बताए । उनले“हामी जस्ता व्यावसायीक खेती गर्ने युवाहरुले अनुदान तथा सहयोग नपाउने रहेछौँ ।झोले फर्महरुले अनुदान पाउँछन् ।यसैगरी राज्यले दिने अनुदान झोले फर्महरुले पाउने हो भने अनुदान पुर्ण रुपमा कटौती गरी राज्यलाई आर्थिक भार कम गर्नु पर्छ ।”बस्नेतले बताए ।“युवा स्वरोजगारमा सरकारले लगानी बढाएर युवालाई कृषि र नर्सरीमै लगाए पनि विदेशिनु पर्ने अवस्था नआउँने”,बस्नेतले बताए ।