अनुचित लेनदेन अर्थात् मिटरब्याज सम्वन्धी निवेदन अब जिल्ला प्रहरी कार्यालयले हेर्ने भएको छ ।अनुचित लेनदेनका सम्पूर्ण निवेदन बिहीबार जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई हस्तान्तरण गरिएको सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जानकारी दिए ।उनका अनुसार अनुचित लेनदेन अर्थात् मिटरब्याज सम्वन्धी निवेदन यसअघि जिल्ला प्रशासन कार्यालयले हेर्दै आइरहेको थियो ।
अनुचित लेनदेनको निवेदन पछ्यौट गर्ने जिम्मेवारी प्रहरीलाई दिने सरकारले नै निर्णय गरेपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले पनि बिहीबारबाट अनुचित लेनदेन अर्थात् मिटरब्याज सम्वन्धी निवेदन जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई हस्तान्तरण गरेको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक प्रवीण धिताललाई अनुचित लेनदेन अर्थात् मिटरब्याज सम्वन्धी निवेदनका फाइलहरु हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी धमलाले बताए ।
सहायक प्रमुख जिल्ला अधिकारी घिमिरे,जिल्ला न्यायाधिवक्ता कैलाश दाहाल,मिटरब्याज ठगी एवम पीडित मजदुर किसान संघर्ष समिति सर्लाहीकी संयोजक रुक्मिणी चौधरी समेतको उपस्थितिमा प्रमुख जिल्ला अधिकारी धमलाले जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक धिताललाई अनुचित लेनदेनको सहमती भई पछ्यौट भइसकेका तथा सहमती हुन बाँकी सबै निवेदन हस्तान्तरण गरेका जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
कार्यालयका अनुसार अनुचित लेनदेन छानविन आयोग गठन हुँदा बखत कार्यालयमा एक हजार नौ सय २०,छुटफुट निवेदन लिने सूचना जारी पश्चात तीन सय ९९ र आयोगबाट अनलाइन प्राप्त दुई हजार एक सय ३७ समेत गरी चार हजार चार सय ५६ वटा उजुरी प्राप्त भएका छन् । ती उजुरीमध्ये आयोग गठन पूर्वका २७ समेत गरी छ सय ४१ उजुरी सहमती गराई फछ्यौट भइ सकेका छन् । तीन हजार आठ सय १५ वटा उजुरी फछ्यौट हुन बाँकी रहेका छन् ।ती उजुरीका सम्वन्धमा अब पीडित र पीडक दुवैलाई प्रहरीले कार्यालयमा बोलाएर छलफल गराउने भएको छ ।