सर्लाहीको हरिवनमा ड्रोन मार्फत जग्गाको नापजाँच सुरु

1.6k Shares

सर्लाहीको हरिवन नगरपालिकाले ड्रोन मार्फत जग्गाको नापजाँच सुरु गरेको छ ।नगरभित्रका भूमिहिन सुकुम्बासी,भूमिहिन दलित तथा अव्यवस्थित बसोबासीहरुलाई जग्गाधनी पुर्जा(लालपुर्जा) प्रदान गर्नका लागि ड्रोन मार्फत जग्गाको नापजाँच सुरु गरिएको हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकीले जानकारी दिए ।उनका अनुसार दुई महिना भित्रमा हरिवन नगरपालिका भित्रका ११ वटै वडामा जग्गाको नापजाँच गर्ने काम सम्पन्न गर्न हरिवन नगरपालिका १ स्थित कोठीखोला र सिकारी टोलबाट ड्रोन मार्फत जग्गाको नापजाँच सुरु गरिएको हो ।
ड्रोनको माध्यमबाट जग्गा नापजाँच गर्दा जनशक्ति तथा समयको पनि बचत हुने भएकाले चाँडै नै भूमिहिन सुकुम्बासी,भूमिहिन दलित तथा अव्यवस्थित बसोबासीहरुलाई जग्गाधनी पुर्जा(लालपुर्जा) प्रदान गर्न सजिलो हुने नगर उप प्रमुख हरिमाया घलानले बताइन् । उनले ड्रोन तथा डिजिपिएस प्रणालीको विधिबाट काम गर्दा अरुभन्दा १० गुणा बढी प्रभावकारी हुने भएकाले पनि ड्रोनको प्रयोग सुरु गरिएको बताइन् ।
हरिवन नगरपालिका १ का  विभिन्न स्थानहरुको अभिलेख तयार गरि नापी कार्यालय हरिवन र मालपोत कार्यालय हरिवनको समन्वयमा राष्ट्रीय भूमि आयोग सर्लाहीमा पेश गरिने भूमिहिन सुकुम्बासी,भूमिहिन दलित तथा अव्यवस्थित बसोबासीहरुलाई छिट्टै जग्गाधनी पुर्जा(लालपुर्जा) प्रदान गरिने हरिवन नगरपालिको भूमि सेवा केन्द्रका प्रमुख सुवाश कुशवाहाले बताए ।उनका अनुसार हरिवन नगरपालिका भरी भूमिहिन सुकुम्बासी एक हजार २०,भूमिहिन दलित दुई सय ९१ जना र अव्यवस्थित बसोबासी दुई हजार पाँच सय २१ जनाको फारम हालसम्म अनलाइनमा प्रविष्ट गरिसकेको छ ।

सम्बन्धित समाचार