रवि जोगाउने एक्सनमा एमालेः संसदमा कांग्रेससँग धकेलाधकेल

1.6k Shares

काठमाडाैं । सहकारी ठगी प्रकरणमा संसदीय समितिको माग गरिरहेको कांग्रेस र छानविन समिति बनाउन नहुने भन्दै प्रतिरोधमा उत्रिएको नेकपा एमालेबीच संसदमा धकेलाधकेल भएको छ । 

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई सभामुख देवराज घिमिरेले बोल्न समय दिएपछि कांग्रेसको अवरोध छल्न खोजेका गृहमन्त्रीलाई रोस्टममा जान इशारा गरेका एमाले अध्यक्ष केपी ओलीतिर फर्किएर पूर्वकानूनमन्त्री समेत रहेका कांग्रेस सांसद धनराज गुरुङले नाराबाजी गरेपछि सत्ता पक्षका सांसदहरु पनि प्रतिवादमा उत्रिए । 

संसदमा एमाले-कांग्रेसका सांसदहरुबीच धकेलाधकेल भएपछि सभामुख देवराज घिमिरेले संसद बैठक स्थगित गरेका छन् । 

किन हुँदैछ संसदमा धकेलाधकेल ?

कांग्रेस सहकारी प्रकरणमा गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध संसदीय समितिको माग गरिरहेको छ । सत्ता पक्ष पनि समिति गठनका लागि राजी भएपनि रविविरुद्ध समिति बन्न नसक्ने दाबी एमालेको छ । यस्तोमा समितिको मोडालिटीमा सहमति जुट्न नसक्दा संसद बन्धक बन्न पुगेको छ । 

बन्धक बन्न पुगेको संसदमा वेल घेराउ गरिरहेका कांग्रेस सांसदहरुमाथि रास्वपाको सट्टा एमाले खनिन थालेको छ । वुधबार मात्रै पनि एमाले संसदीय दलको बैठकमा अध्यक्ष केपी ओलीले कांग्रेसमाथि प्रहार गर्दै संसदमा अब कांग्रेसविरुद्ध जाइलाग्नु पर्छ भन्ने किसिमले अभिव्यक्ति दिएका थिए । उनले कांग्रेसले लोकतन्त्रको चिरहरण गर्न खोजेको आरोप समेत लगाउदै आएका छन् । 

कांग्रेसलाई बोल्न नदिने र एमालेले बोल्ने ओलीको प्रतिक्रियापछि कांग्रेस सांसद प्रदीप पाैडेलले संसद प्रतिपक्षले प्रश्न गर्ने र सत्ता पक्षले जवाफ दिने थलो हो भन्दै प्रतिवाद गरेका छन् । यस्तोमा धकेलाधकेलमा उत्रिएका सांसदहरुले संसदलाई थप बन्धक बनाउनेमा कुनै शंका छैन् । 

 

सम्बन्धित समाचार