काठमाण्डौं । सहकारी हिनामिना प्रकरणमा जोडिएका सञ्चालक समितिका सदस्य र पदाधिकारीहरूसँग बयान लिन सुरु गरिएको छ । सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न गत जेठ १५ गते ने.क.पा. एमालेका सांसद सूर्यबहादुर थापाको संयोजकत्वमा गठित संसदीय समितिले शुक्रबारदेखि बयान लिन थालेको हो ।
समिति सदस्य सरिता भुसालका अनुसार शुक्रबार गौतम श्री बहुउद्देश्य सहकारी संस्था लिमिटेड, लालीगुराँस बहुउद्देश्य सहकारी संस्था लिमिटेड र गोरखा बचत सहकारी संस्थासँग जोडिएका विभिन्न व्यक्तिहरूको बयान थालिएको हो ।
एमाले सांसद थापाको संयोजकत्वमा बनेको ७ सदस्यीय छानबिन समितिले अन्य छानबिन प्रक्रिया सकिसकेपछि सञ्चालहरूलाई बयान लिन थालेको हो । बयान लिनुअघि शुक्रबार सहकारी छानबिन विशेष समितिको बैठक सिंहदरबारमा बसेको थियो ।
तीन महिनाको समय पाएको समितिले प्रमाणहरू जुटाउने र अन्य निकायबाट प्रमाण लिने काम सकेको छ । समयसीमा भदौ १५ सम्ममात्र रहेकाले समितिले काम तीव्र गतिमा अघि बढाइरहेको समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीले बताएका छन् ।
संयोजक थापाले २९ वटा सहकारीमध्ये क्रमैसँग आरोपितहरूको बयान लिन सुरु गरिने बताएका थिए । यस प्रकरणमा पूर्वगृहमन्त्री रवि लामिछानेको पनि समितिले बयान लिने छ । उनी पोखरा र बुटवलका सहकारीबाट भएको अर्बौँ रुपैयाँ हिनामिना प्रकरणमा जोडिएका छन् ।
छानबिन समितिले यसअघि नै सहकारी ठगीमा संलग्न भएर विदेश भागेका १८ जनालाई नेपाल ल्याउन गृहमन्त्रालयलाई निर्देशन दिइसकेको छ । देशबाहिर रहेका १८ जनाको नाम समितिले गृहमन्त्रीलाई उपलव्ध गराएको थियो । उनीहरूलाई नेपाल ल्याउन निर्देशन दिइएको समिति संयोजक थापाले जानकारी दिए ।