भाद्र ५, काठमाण्डौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले संघीय अस्पतालमा बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा बुधबार मन्त्रालय र केन्द्रबीच हस्ताक्षर भएको छ । मन्त्रालयका तर्फबाट गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदन उपाध्याय र केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
अस्पतालमा खेर गइरहेका उपकरण मर्मत गर्नका लागि सघाउन मन्त्री पौडेलले केही दिन अघि पुनसँग आग्रह गरेका थिए । त्यसलगत्तै मन्त्रालयले पुन नेतृत्वको केन्द्रसँग औपचारिक सम्झौता गरेको हो । अब केन्द्रले हाल मन्त्रालय अन्तर्गतका १७ अस्पतालमा बिग्रिएर रहेका स्वास्थ्य उपकरणको अवस्थाबारे जानकारी लिनेछ । त्यसपश्चात् मर्मत सम्भव भएका सबै उपकरणको केन्द्रका प्राविधिकहरूले मर्मत गर्नेछन् ।
हस्ताक्षर कार्यक्रममा मन्त्री पौडेलले अस्पतालमा मर्मत अभावमा उपयोगमा आउन नसकेका उपकरणलाई केन्द्रको सहयोगमा मर्मतपछि उपचार सेवामा सहजता आउने विश्वास व्यक्त गरे ।
देशको सीप प्रयोग गरेर स्वदेशमै केही गर्न खोजिरहेका वैज्ञानिकहरूको योगदानलाई यो राज्यका तर्फबाट कदर हो,’ मन्त्री पौडेलले भने, ‘स्वदेशी सीपमा कम खर्चमा उपकरणको मर्मत हुने आशा लिएको छु । उनले केन्द्रको सहयोगमा राज्यको खेर गैरहेको सम्पत्तिको उपयोगबाट बिरामी पनि लाभान्वित हुने र उपकरण खरिदका लागि हुने खर्चसमेत कम हुने आशा गरे ।
केन्द्र प्रमुख पुनले राज्यले आफूहरूलाई विश्वास गरेर ठूलो जिम्मेवारी दिएको भन्दै खुशी प्रकट गरे । राज्यले हामीलाई विश्वास गरेर ठूलो जिम्मेवारी दिएको छ उनले भने ‘अब हामी हाम्रै श्रोत साधन र प्राविधिकको उपयोग गरेर मर्मत गर्नेछौं ।