मंसिर तेस्रो साता उपनिर्वाचन गर्ने निर्वाचन आयोगको तयारी

2.2k Shares

भाद्र ७, काठमाण्डौं । निर्वाचन आयोगले सातवटै प्रदेशका विभिन्न जिल्लाहरुमा जनप्रतिनिधि रिक्त रहेका स्थानीय तहमा उपनिर्वाचनको तयारी थालेको छ ।

आयोगले विभिन्न कारणले जनप्रतिनिधिविहीन रहेका स्थानीय तहमा उपनिर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरिसकेको छ ।

विभिन्न कारणले नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा वडाध्यक्ष गरी जम्मा ३४ पद रिक्त रहेको भन्दै आयोगले साउन २९ मा मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको हो ।

गाउँपालिका तथा नगरपालिकाका विभिन्न पदहरू रिक्त हुँदा आम नागरिकलाई सेवा प्राप्तिमा असुविधा हुने विषयलाई मध्यनजर गर्दै उपनिर्वाचन मार्फत पदपूर्तिका लागि आयोगले आन्तरिक तयारी गरिरहेको जनाएको छ ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ बमोजिम रिक्त रहेका पदहरूको पदावधि एक वर्षभन्दा बढी बाँकी रहेको अवस्थामा निर्वाचन आयोगको परामर्शमा सरकारले मिति तोकेर उपनिर्वाचनद्वारा पदपूर्ति गर्ने व्यवस्था छ ।

निर्वाचन आयोगले सरकारसँगको परामर्शपछि आगामी मंसिर तेस्रो साता रिक्त जनप्रतिनिधिका लागि उपनिर्वाचन गर्ने तयारी थालेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मंसिर तेस्रो साता उपनिर्वाचन गर्ने तयारी थालिएको जानकारी बताएका छन् ।

सम्बन्धित समाचार