भेनेजुयलाको काराकसमा फाँसीवाद र नवफाँसीवादका विरुद्ध अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । विश्वका १०० भन्दा बढी देशहरूका प्रतिनिधिहरूको सहभागितामा सम्मेलन भएको हो उक्त सम्मेलनमा नेपालबाट नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं वाईसीएल नेपाल काअध्यक्ष सुबोध राज सेर्पाली र नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य माधव पन्त सहभागी भएका छन् ।
सम्मेलनको उद्घाटनमा भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रीगेज, अर्जेन्टिनाका समाजवादी नेता क.मार्सेलो कोइनिक र स्पेन कम्युनिस्ट पार्टीका पुर्व महासचिव क. मेनुअल पिनेदा लगायतका समाजवादी नेताहरूले मन्तव्य राखेका थिए सो क्रममा उपराष्ट्रपति डेल्सीले गत जुलाई २८ मा भएको राष्ट्रपतिको निर्वाचनमा प्रजातान्त्रिक प्रक्रियामाथि हस्तक्षेप गर्ने अमेरिका र युरोपियनहरूको कदमको कडा प्रतिवाद गर्न भेनेजुएलाका जनता सक्षम रहेको बताइन् ।
भेनेजुएलाका तत्कालीन क्रान्तिकारी नेता ह्युगो चाभेजको नेतृत्वमा सम्पन्न समाजवादी क्रान्तिले ल्याटिन अमेरिकामा मात्रै नभएर संसारभरि समाजवादी, कम्युनिस्ट क्रान्तिको उभार ल्याएको थियो ।
मानव अधिकार, न्याय, स्वतन्त्रता र प्रगतिशील उन्नत समाजको निर्माण गर्न यो सम्मेलनको आयोजना गरिएको आयोजकको भनाइ छ । मंगलबारदेखि सुरु भएको सम्मेलन फाँसीवादलाई परास्त गर्न संसारभरका कम्युनिस्ट, समाजवादी एवं प्रगतिशील राजनीतिक शक्तिहरूले एकताबद्ध हुनुपर्ने निष्कर्ष निकाल्दै बुधबार सम्पन्न भएको छ । फासीवाद विरुद्ध युरोप, अफ्रिका र एसियाबाट सहभागीहरूबीचको साझा एक्यवद्धता पनि आज नै सम्पन्न भएको छ ।