असोज १८, काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले विपद्को बेलामा सरकारले गम्भीर लापरबाही गरेको बताएका छन् ।
शुक्रबार बसेको प्रतिनिधि सभाअन्तर्गतको विकास तथा पूर्वाधार समितिको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई प्रश्न गर्दै उनले बाढी पहिरोको विपत्तिको बेला राहत उद्धारमा सरकार चुकेको भन्दै सरकारको आलोचना गरे ।
उनले अघिल्लो वर्ष भूकम्प जाँदाखेरि प्रधानमन्त्री तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफै राहत र उद्धारमा खटेको स्मरण गराउँदै देश संकटमा पर्दा यसपटक प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकामा बसेको र नख्खु खोलामा ४ घण्टासम्म छानामा बसेका व्यक्तिहरूको समेत उद्धार गर्न नसकेर सरकार लाचार भएको टिप्पणी गरे ।
अहिलेको सरकारलाई स्याबास भन्न सक्ने अवस्था छैन । नख्खु खोलामा ४ घण्टासम्म पनि उद्धारको प्रतीक्षामा रहेका व्यक्तिलाई एउटा डोरी दिएर समेत राज्यले उद्धार गर्न सकेन ।
यस्तो सरकारलाई स्याबास सरकार, आइ लभ यु भन्न सकिँदैन । प्रधानमन्त्री केपी शर्मा ओली देशमा विपत्तिको बेला अमेरिकामा व्यक्तिको घरमा रिबन काट्न छोडेर विमान चार्टर गरेर आएको भए स्याबास सरकार भन्नुहुन्थ्यो । सरकारले केही गरेको छैन हामीले स्याबास, आइ लभ यु भन्दिनु पर्ने?’
सांसद सापकोटाले सिंहदरबारबाट हेर्दा राजमार्गहरू सुचारु भएको देखिए पनि सडकमा पुग्दाखेरि हिँड्न समेत कठिन रहेको, बाइक, गाडीहरू गुड्न कठिन रहेको, जताततै पहिरो रहेको उल्लेख गरे ।
सार्वजनिक खरिद ऐन काम गर्न बाधक रहेको बताउँदै उनले तत्काल रकम पठाउने व्यवस्था गर्न मन्त्री दाहाललाई आग्रह गरे ।