असोज १९, काठमाण्डौं । सप्तरी हनुमाननगर कङ्कालिनी नगरपालिका-१ कोशी ब्यारेजका भीमराज मण्डलले दुई बिघामा लगाएको धानखेती बाढीले बगायो । कोशी किनारमै मजदुरी गर्दै आएका उनी बाढीले धानखेती ध्वस्त बनाएपछि अब के गर्ने भन्ने चिन्तामा छन् । अहिलेसम्मको सबै मेहनत बाढीले बगायो, खेतमा गोडमेल, रोपाइँ, सिँचाइलगायतमा मात्रै प्रतिबिघाको ३५ हजारसम्म खर्च भएको थियो’, उनले भने ।
केही दिन अघि परेको अविरल वर्षासँगैको कोशी नदीमा आएको भिषण बाढीका कारण उनी मात्रै होइन अधिकांश किसान पीडामा छन् । घुटराज जातको धान लगाएको थिए । पाकेर स्याहार्ने बेलामा कोशीको बाढीले सबै लग्यो, यहाँका किसानको लाखौंको लगानी डुब्यो उनले भने ।
कोशी ब्यारेजकै किसान लक्षमण प्रमाणीले दशैं लगत्तै धान काट्ने सोचमा थिए । तर, यही असोज १२ गते आएको बाढीले घरदेखि पश्चिम कोशी किनारमै रहेको खेत माटोले भरिएको छ ।
चार बिघामा लगाएको सबै धान बाढीले पुरिदियो, घर खर्च कसरी चलाउने भन्ने चिन्ता थपिएको छ उनले भने, ‘हामी खेतीमै निर्भर परिवार हो । अब के गरी परिवारको पेट पाल्ने भन्ने चिन्ता थपिएको छ ।
त्यस्तै पूर्व-पश्चिम राजमार्गको उतरपट्टी हनमाननर कङ्कालिनी नगरपालिका-१ भारदहमा पाँच सय बिघामा लगाइएको धानखेत बगरमा परिणत भएको छ ।
स्थानीय बुदुर राम र फुदुर रामको दुईदुई बिघाको धानबाली पूर्णरुपमा नष्ट भएको छ । यस्तै भारदह गाउँकै अनिल माझी, पारस माझी, बथुह माझी, मोहन संत, मुसहरु राम, सुनिल राम, महेश माझी, सकलदेव लोगी र अशोक खड्गा, बासुदेव खड्गा तथा मनवोध झासहित करिब एक सय परिवारको धान खेती कोशीको बाढीका पानीका कारण नष्ट भएका छन् ।
धानखेतीमा पानी निकासी हुने कुनै ठाउँ नरहेकाले पाँच सय बिघामा लगाइएको धान पूर्णरुपमा गलेर नष्ट भएको वडा अध्यक्ष सुरेन्द्र मण्डलले जानकारी दिए । उक्त ठाउँमा कोशी नदीबाट भासेर आएका जलकुम्भी, विभिन्न झारपातले भरिएको छ ।