कार्तिक०२,काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदका प्रतिपक्षी दलहरूको बैठक बोलाएका छन् । बैठकमा बाढीपहिरोपछिको अवस्था, सरकारका कामकारबाही, समसामयिक राजनीतिक घटनाक्रमलगायतबारे छलफल भएको हो।
बैठकमा रास्वपा, राप्रपा, एकीकृत समाजवादी, जसपा लोसपालगायत दल का शीर्ष नेताहरू सहभागी रहेका थिए।माओवादीका उपमहासचिव शक्तिबहादुर बस्नेतका अनुसार अहिलेको सरकार जनसरोकारका विषयभन्दा पनि पार्टीगत स्वार्थमा अल्झिएको महसुस भएको छ।
‘बाढीपहिरोमा परेकाहरूको खोज, उद्धार, उपचार र पुनर्स्थापनाका बारेमा सरकारले गम्भीरताका साथ काम गरेन,’ उपमहासचिव बस्नेतले भने, ‘आज यसबारे पनि समीक्षा भयो। सरकार उदासीन छ र जनताप्रति जवाफदेही भइराखेको छैन। जनताका सरोकारका विषय सम्बोधन गर्नेतिरभन्दा सरकार पार्टीगत स्वार्थलाई प्राथमिकतामा राखेर अघि बढेको देखिएको छ। यी सबै कुरालाई ध्यानमा राखेर प्रतिपक्षी दलहरूका तर्फबाट सरकारलाई ज्ञापन पत्र पेस गर्ने भन्ने भएको छ।’
उपमहासचिव बस्नेतले संसदको विशेष अधिवेशन बोलाउन माग गर्ने परिस्थिति पनि आउन सक्ने बताएका छन्।