मंसिर १२, रूकुम पूर्वीभाग। रूकुम पूर्वकाे पुथाउत्तरगङ्गा गाउँपालिका ९, मा ने.क.पा. (माओवादी केन्द्र) बाट निर्वाचित वडाध्यक्ष हर्कप्रसाद रोका मगर 'भुजेल'ले सबै चुनावी प्रतिबद्धता पूरा हुने चरणमा पुगेको बताएका छन।
विगतमा काँग्रेसको बर्चस्वका कारण विकासमा पछि परेको वडा भएतापनि आफु निर्वाचित भएपछि गाउँको मुहार फेरिन थालेको उनको दावी छ । चुनावका बेला आफुले गरेका प्रतिबद्धता करिव पूरा भएको उनको भनाइ छ । कार्यकालको अन्त्यतिर वडामा गाडी समेत पुर्याएर बिदाइ हुने उनको योजना छ ।
उनले विद्यालयमा पक्की भवन, स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सहितको पक्की भवन, चर्च भवन, विद्युतिकरण, पर्यटन प्रवर्द्वन जस्ता विकासका आधार स्तम्भ आफ्नो पहलमा पूरा भएको बताए । वडाध्यक्ष रोकाले लुम्बिनी भ्वाइस लाई भने "०७४ मा जितेका जनप्रतिनिधिले जनताको सेवामा काम गर्न ध्यान नदिएर कम्प्युटर, प्रिन्टर बोरामा राखी बसेका थिए । जनताले पञ्जिकणको काम गर्न वा कम्प्युटरबाट कुनै काम गर्नुपरे ४/५ घण्टा हिडेर चारगाउँ वा तकसेरा पुग्नुपर्ने वाध्यता थियो ।
अहिले वडाले यी समस्या हल गरेर सामाजिक सुरक्षा भत्ता समेत गाउँबाट वितरण गर्ने ब्यबस्था मिलाएको छ " अध्यक्ष रोकाका अनुसार यहाँकाे बन पनि कानुनको दायरामा ल्याइएको छ । हाल वडामा तीन वन उपभोक्ता समिति दर्ता गरिएको छ । वन पैदावार चोरी निकासी रोक्न वन हेरालु ब्यबस्था समेत गरिएको छ ।
वडामा यसै आर्थिक बर्षभित्र सडक पुग्ने जसका लागि टेन्डर आह्वान समेत भैसकेको उनले जानकारी दिए । उनले भने-"अझ काँग्रेस एमालेले विकासमा राजनीति नगरे धेरै गर्न सकिन्थ्यो होला ।" कृषि र पर्यटनमा यहाँ धेरै सम्भावना भएको वडाध्यक्ष को बुझाई छ ।
लामो समय काँग्रेसले नेतृत्व गरेपनि विकासमा शुन्य पहल गरेको उनको आरोप छ ।
०७९ को स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसका मदनकुमार रोकालाई ५ मतले हराँउदै हर्कप्रसाद रोका मगर 'भुजेल' निर्वाचित भएका थिए।