काठमाडौं, २४ माघ । नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपालले आफ्नो संगठनको ४३औं स्थापना दिवस मनाएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम गरी स्थापना दिवस मनाएको हो ।
प्रमुख अतिथि पम्फ भुसालले वाइसीएल नेपालका सबै किसिमका सकारात्मक परिवर्तनहरुमा सधैं अग्रमोर्चामा रहि लडेको भन्दै खुलेर प्रसंसा गरिन् । आन्दोलन र पार्टीमा आएको उतारचढाबमा वाइसीएल संगठनमा कहिले सक्रिय त कहिले निष्क्रियजस्तो देखिएपनि भूमिकामा सधैं सक्रिय रहेको बताए ।
वाइसीएल फ्याक्सन इन्चार्ज दीपशिखाले वाइसीएल पार्टीको आवश्यकताको स्मार्ट संगठन रहेको बताए । उनले भने ‘वाइसीएल केही निष्क्रियजस्तो देखेपनि पार्टीको एउटा आदेशमा पुन खडा हुनेछ ।’
अध्यक्ष सेर्पालीले वाइसीएल नेपाल विचारसहितको स्मार्ट ब्रेन भएको युवाहरूको समूह भएकाले बताए । वाइसीएल समयको आवश्यकताअनुसार आफ्नो भूमिका बदल्ने तागत राख्ने उनले बताए । ‘हामी पार्टी हेडक्वाटरको निर्देशनअनुसार पुरानो तागतलाई जगाउदै सबै युवाहरूलाई एकीकृत गरि नयाँ योजनासहित आउनेछौं । त्यसका लागि सबै क्रान्तिकारी युवाहरू तयार हुनुहोला,’– उनले भने ।
वाइसीएलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ युवा संघको अध्यक्ष भएको मितिलाई स्थापना दिवसको रुपमा मनाउँदै आइरहेको छ ।

