पत्रकार हत्याको विरोधमा माइतीघरमा प्रदर्शन (फोटो फिचर)

7.8k Shares

काठमाडौँ, चैत १६ गते ।शुक्रबार भएको राजावादीहरुको आन्दोलनमासमाचार सङ्कलनकै क्रममा पत्रकारको हत्या भएको र आमसञ्चार माध्यममा आक्रमण गरिएको विरोधमा नेपाल पत्रकार महासंघले शनिबार बिहान माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।
भिडियो खिचिरहेको घरमा राजावादी प्रदर्शनकारीहरूले आगो लगाएसँगै उहाँको जलेर मृत्यु भएको थियो ।यो घटनाको निन्दा गर्दै छानबिन र दोषीउपर कारवाहीको माग गर्दै आउने दिनमा मिडियामाथि प्रहार नगर्न समेत माग गरेका छन् ।  

नेपाल पत्रकार महासंघको नेतृत्वमा गरिएको प्रदर्शनमा प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज), प्रेस सेन्टर नेपाल, सञ्चारिका समूह, मधेसी पत्रकार संघ, थारु पत्रकार संघ, नेपाल लगायतका पत्रकार सम्बद्ध संघ संस्थाका पत्रकारको सहभागिता रहेको थियो । स्वर्गीय पत्रकार रजकको परिवारलाई उचित क्षतिपूर्तिसहित न्याय नदिएसम्म अभियान जारी रहने महासंघका पदाधिकारीहरुको भनाइ छ । 

प्रदर्शनको क्रममा आयोजित कोणसभामा महासंघका पूर्व अध्यक्ष तारानाथ दाहालले पत्रकार रजकको मृत्यु नभइ हत्या गरिएको बताउनुभयो । पूर्व राजावादीहरुले आतातायी ढङ्गले पत्रकार रजकको जलाएर हत्या गरेको उहाँको भनाइ छ । सो अवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, महासचिव रामप्रसाद दाहाल, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डे, प्रेस सेन्टरका महासचिव सन्तोष पौडेल, रिपोर्टस क्लवका अध्यक्ष ऋषि धमला लगायतले प्रेस स्वतन्त्रताको पक्षमा सुरु गरिएको अभियानलाई सफल बनाएर छाड्ने बताउनुभयो । उहाँहरुले यस अभियानमा सबै पत्रकारलाई एकतावद्ध भएर लाग्न आव्हान गर्नुभयो । 

सम्बन्धित समाचार