विभागको सक्रियताले पार्टीलाई गतिशील र ऊर्जा थपेको छः सभापति देउवा

1k Shares

काठमाडौँ, वैशाख १६ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका विभागहरूले सक्रियताका साथ काम गरेको भन्दै प्रशंसा गर्नुभएको छ ।

मङ्गलबार सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा पार्टीको विपन्न उत्थान समन्वय विभागले तयार पारेको विपन्न वर्गको पहिचान, उत्थान र विकास गर्न गराउन नीतिगत तथा कार्यक्रमसहितको प्रतिवेदन बुझ्दै विभागहरूको प्रशंसा गर्नुभएको हो ।

सभापति देउवाले विभागहरूको सक्रियताले पार्टीलाई गतिशील र नयाँ ऊर्जा थपेको बताउनुभयो । उहाँले लामो अध्ययन, छलफल, भेटघाट र विज्ञहरूसँग भएको अन्तरक्रियात्मक लगायतका कार्यक्रमहरूबाट प्राप्त हुने विषयवस्तुहरू पार्टीका लागि भावी रणनीतिको तर्जुमाका लागि महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।

महामन्त्री थापाले सङ्घ, प्रदेश र स्थानीय तहको लागि छुट्टाछुट्टै बजेट तथा कार्यक्रम बनाउनुपर्नेमा जोड दिँदै विपन्न लक्षित कार्यक्रमका बारेमा विभागले गरेको प्रस्ताव ठीक भएको प्रतिक्रिया दिए । उनले प्रतिवेदन पार्टीको सम्पत्ति भयो भन्दै सङ्घीय बजेटमा पर्नुपर्ने कार्यक्रमका बारेमा सुझाव पेश गर्न आग्रह गरे ।

पूर्वउपसभापति विजयकुमार गच्छदारले विभागले प्रस्तुत गरेको प्रतिवेदनलाई पार्टीले पूर्ण कार्यान्वयन गर्न सक्यो भने १५/२० वर्षसम्म प्रभावकारी हुने विश्वास व्यक्त गरे । उनले प्रतिवेदनले कोरेका खाकालाई पछ्याउने हो भने २० वर्षमा समृद्ध नेपाल निर्माण हुने धारणा राखे ।

विपन्न उत्थान समन्वय विभागका प्रमुख डाक्टर गोपाल दहिदले ११ जना सदस्य रहेको समितिले विभिन्न स्रोतबाट सङ्कलन गरेको तथ्य र तथ्याङ्कका आधारमा विपन्न उत्थानका लागि ५६ पेजको प्रतिवेदन तयार पारेको जानकारी गराए । प्रतिवेदनमा वडा र स्थानीय तहले जमानी बसेर विपन्नलाई उद्यमशीलता र रोजगारीका लागि ऋण दिनुपर्ने प्रस्ताव समेटिएको उनले जानकारी गराए ।

सम्बन्धित समाचार