नेपालगञ्ज, ५ असार । लुम्बिनी प्रदेशमा मातृ तथा बाल स्वास्थ्य सुधारका लागि पोषण विशेष कार्यक्रम सञ्चालन गरिने भएको छ । पोषण अवस्थामा सुधार एवम् बाल तथा मातृ मृत्युदर घटाउन लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयलले आज यहाँ स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालासँगको अन्तरक्रिया आयोजना गरेको थियो ।
बढ्दो मातृ तथा बाल मृत्युदर घटाउन विशेष कार्यक्रम सञ्चालन गर्न लागिएको मन्त्रालयका जनस्वास्थ्य प्रशासक उमेश गौतमले जानकारी दिए । उनले पोषण नहुँदा त्यसले स्वास्थ्यमा गम्भीर असर पार्नुका साथै मृत्युसमेत हुने भएकाले सो अभियान सञ्चालन गर्न लागिएको उनको भनाइ छ ।
प्रदेशका वरिष्ठ नर्सिङ प्रशासक प्रमुख इश्वरी केसीले विषयवस्तु र कार्यक्रमको उद्देश्यबारे जानकारी गराएका थिए । सो अन्तरक्रियाका सहभागीले बालबालिकामा कुपोषण हुन नदिन जनस्वास्थ्यका क्रियाकलापलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । लुम्बिनी प्रदेश मातृ तथा बाल मृत्युदर बढी हुने प्रदेशमा पर्छ । रासस