संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको फैसला आज

1.9k Shares

काठमाडौँ, असार १८ गते । सर्वोच्च अदालतले संवैधानिक निकायमा गरिएको नियुक्तिविरुद्धको फैसाल आज सुनाउँदै छ । संवैधानिक परिषद्सम्बन्धी ऐनलाई संशोधन गरी अध्यादेश ल्याई ५२ संवैधानिक पदमा नियुक्ति गरिएको थियो ।

विसं. २०७७ माघ र २०७८ असार गरी दुई चरणमा गरिएका ५२ संवैधानिक नियुक्तिविरुद्धको फौसला सर्वोच्चले बुधबार सुनाउन लागेको हो ।

संवैधानिक निकायमा नियुक्तिविरुद्ध २०७७ पुस १ देखि २०७९ साउन १० गतेसम्म १५ वटा रिट दायर भएका थिए । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू ओमप्रकाश अर्याल, कीर्तिनाथ शर्मा पौडेलका साथै डा. पुण्यप्रसाद खतिवडालगायतले विभिन्न मितिमा रिट दायर गर्नुभएको थियो । अर्याल, शर्मा र त्रिपाठीलगायतको रिटमा ती नियुक्ति संविधान र कानुनविपरीत रहेको दाबी गरिएको छ ।

५२ जना नियुक्त् भएकामध्ये कतिपय उमेरहदका कारण अनिर्वाय अवकासमा गइसकेका छन् भने केही अवकासको मुखमा छन् । यसअघि २०७८ चैत ९ गते कारण देखाऊ आदेश जारी भएको थियो भने २०७९ असार ८ गतेको आदेशमा सबै मुद्दालाई लगाउमा राख्ने र सबै विपक्षीलाई जानकारी दिने आदेश भएको थियो ।

सो मुद्दामा संवैधानिक नियुक्ति लिएका ५२ जना, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संवैधानिक परिषद्का सदस्य आदिलाई विपक्षी बनाइएको छ । अध्यादेशमार्फत नियुक्ति पाएका समावेशी आयोगका अध्यक्ष डा.रामकृष्ण तिमल्सिना र महिला आयोगकी सदस्य जया घिमिरेले उमेर हदका कारण अनिवार्य अवकाश पाईसकेका छन् ।

सो रिटमाथिको सुनुवाइ गत जेठ १ गते नै सकिएसँगै जेठ २८ गते निर्णय सुनाउने मिति तय भएको थियो ।

तर प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदीबिच भएको लामो छलफलपछि  असार १८ गते निर्णय सुनाउने मिति सारिएको थियो । 

सम्बन्धित समाचार