हतियार आपूर्ति रोकेकोबारे जेलेन्स्कीले ट्रम्पसँग कुरा गर्ने

2.5k Shares

काठमाण्डौ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाले हतियारको आपूर्ति रोकेकोबारे अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग कुरा गर्ने बताएका छन् । ट्रम्पले जेलेन्स्कीसँग केही दिनभित्र कुरा गर्ने अपेक्षा गरिएको छ । जो बाइडेन सरकारले दिने निर्णय गरेको सटिक निशाना लाग्ने प्याट्रियट एअर-डिफेन्स सिस्टम अन्तर्गतका रक्षात्मक मिसाइल (इन्टरसेप्टर) र केही हतियारको आपूर्ति उनले रोकेका छन् ।

अमेरिकी अनलाइन पोलिटिकोले लेखेअनुसार, रक्षा मन्त्रालयका नीति प्रमुख एलब्रिज कोल्बीले अमेरिकाको गोलाबारी, एअर-डिफेन्स मिसाइल र सटिक हतियारहरूको भण्डार घटिरहेको औँल्याएर सो निर्णय लिएका हुन् ।

एक हप्ताअघि नेदरल्यान्ड्सको हेगमा भएको नेटोको शिखर सम्मेलनको अवसरमा ट्रम्पले युक्रेनलाई प्याट्रियट एअर-डिफेन्स मिसाइल बेच्नेबारे विचार गर्ने बताएका थिए। तर अहिले भने युक्रेनलाई हस्तान्तरण गर्नका लागि छिमेकी पोल्याण्ड पुर्‍याइसकिएको हतियार समेत उनले रोकेका हुन्।

युक्रेनले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएर यसबारे सोधेको थियो।जेलेन्स्कीले रूसी हवाइ आक्रमणबाट आफ्नो देशलाई जोगाउन  १५ अर्ब डलरमा १० वटा प्याट्रियट एअर-डिफेन्स युनिट किन्न चाहेको पनि बताएका छन् । ट्रम्पले युक्रेनलाई अमेरिकाले दिइरहेको हतियार रोक्न सक्छन् भनेर पहिलेदेखि अपेक्षा गरिएको थियो। त्यसैले युरोपेली देशहरूले प्याट्रियट एअर-डिफेन्स सिस्टम लगायत हतियार अमेरिकासँग किनेर युक्रेनलाई दिने योजना बनाएका छन्।

युक्रेनलाई हतियारको आपूर्ति रोकेको दुई दिनपछि ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग बिहिबार एक घण्टा भन्दा बढी फोनमा कुरा गरे। ट्रम्पले युक्रेनमा भइरहेको युद्धका कारण आफू 'खुसी नभएको' बताए । तर पुटिनसँगको कुराकानीमा सो विषयमा कुनै प्रगति नभएको स्वीकार गरे।

जेलेन्स्कीसँगको कुराकानीमा ट्रम्पले पुटिनसँग भएको कुराबारे पनि जानकारी दिने अपेक्षा गरिएको छ। हेगमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग भेटेपछि उनीप्रति सहानुभूति देखाएका एक हप्तामै ट्रम्पले हतियार रोक्ने निर्णय लिएका हुन्। फेब्रुअरी अन्त्यमा ह्वाइट हाउसमा जेलेन्स्कीलाई बेइज्जत हुनेगरी झपारेका ट्रम्पले जुन २५ को भेटपछि भने उनलाई राम्रो मान्छे भनेका थिए।

सम्बन्धित समाचार