असोज- ३, काठमाण्डौं । नेपाली कांग्रेसमा नियमित वा विशेष महाधिवेशन गर्न महामन्त्री गगन थापाले प्रस्ताव राखेका छन् । शुक्रबार केन्द्रीय कार्यालय सानेपामा उपसभापति पूर्णबहादुर खड्काले कार्यसम्पादन समिति बैठक सुरू गर्नासाथ महामन्त्री थापाले नियमित वा विशेष महाधिवेशन गर्नुपर्ने कुरा राखेका हुन्।
पार्टीमा रूपान्तरण जरूरी भएको र त्यो कुरा भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनले पनि देखाएको उनको भनाइ थियो । पार्टीको यो दायित्व र जिम्मेवारी पूरा गर्नका लागि आत्मसमीक्षा, आत्ममन्थन र आत्मसंकल्प गर्दै विगतमा भएका गल्ती र कमजोरीलाई स्वीकार्दै, पार्टीलाई आमूल परिवर्तन गर्नुपर्ने र पार्टीको पुनर्गठन गर्नुपर्ने महामन्त्री थापाको भनाइ थियो।
थापाले नियमित महाधिवेशन वा विशेष महाधिवेशन लगायत विभिन्न विकल्प प्रस्तुत गर्दै विधि सम्मत तरिकाले पार्टी रूपान्तरण जरूरी रहेको र यो गर्नैपर्ने बताएका थिए । सुरूमा उनले नियमित महाधिवेशनको कुरा राखे ।
जसमा उनले भने, ‘पार्टीको विधान अनुसार वर्तमान कार्यसमितिको कार्यकाल मंसिरमा सकिन्छ। अब म्याद नथपौं, यो परिस्थितिमा थप्न मिल्दैन । नियमित अधिवेशन २०८२ मंसिर मसान्तभित्र गर्न सकिन्छ, गरौं।
हालको क्रियाशील सदस्य यथावत् कायम राखेर १ महिनाको लागि नयाँ क्रियाशील सदस्यता लिने समय तोकौं र त्यही क्रियाशील सदस्यबाट अधिवेशन गरौं।’