प्रचण्डकै नेतृत्वमा महाधिवेशनमा जाने प्रस्ताव

5.6k Shares

असोज-८, काठमाण्डौ । ने.क.पा. (माओवादी केन्द्र) को बिहीबार बस्ने केन्द्रीय समिति बैठकमा फरक प्रस्ताव राख्ने विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शीर्ष नेताहरूबिच सवालजवाफ भएको छ ।

केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्न आज बसेको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले समय अभावको कारण देखाउँदै फरक प्रस्ताव राख्न अस्वीकार गरेपछि सवालजवाफ भएको हो ।

एक स्थायी समिति सदस्यका अनुसार प्रचण्डले बैठकका लागि ९ वटा एजेन्डा पेस गरेका थिए । तर केन्द्रीय समिति बैठक भोलि एक दिन मात्र राख्ने भनेपछि उपमहासचिव जनार्दन शर्माले असहमति राखेका थिए । फरक प्रस्तावमाथि पनि छलफल गर्नुपर्ने भएकाले एक दिनले नपुग्ने कुरा उठाएका थिए । 

यस्तै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि फरक मत राख्न पाउनुपर्ने बताएका थिए । असोज ५ गते बसेको पदाधिकारी बैठकमा उपमहासचिव शर्माले श्रेष्ठलाई कार्यवाहक दिएर महाधिवेशनमा जानुपर्ने प्रस्ताव गरेका थिए । 

‘अध्यक्षले सुरुमा एजेन्डा राख्नुभयो । त्यसपछि केही छ भने समूहगत रूपमा आफ्ना धारणा राख्नुभयो । तर वरिष्ठ उपाध्यक्षले फरक प्रस्ताव ल्याउन पाउनु पर्‍यो नि भन्नुभयो । जवाफमा अध्यक्षले केही छ भने समूहगत रूपबाट ल्याउनोस् भन्नुभयो । अध्यक्षले बैठक एक दिनभन्दा बढी लम्ब्याउन सकिँदैन भन्नुभयो,’ ती नेताले रातोपाटीलाई भने ।

सम्बन्धित समाचार