असोज- ११, काठमाण्डौ । बागमती प्रदेश सरकारले जेनजी प्रदर्शनका क्रममा सवारीसाधनमा क्षति पुगेका प्रहरी कार्यालयका लागि मोटरसाईकल उपलब्ध गराउने भएको छ ।
बागमती प्रदेश सरकारले करिब ३ करोड रूपैयाँ बराबर मूल्य पर्ने ८५ वटा मोटरसाइकल दिने निर्णय गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिए ।
बागमती प्रदेशका इलाका प्रहरी कार्यालयहरूका लागि ३० वटा, उपत्यका प्रहरीको लागि ३० वटा र उपत्यका ट्राफिक प्रहरीको लागि २५ वटा गरी ८५ वटा २ पाङ्ग्रे सवारीसाधन दिने निर्णय गरेको हो । आर्थिक मामिला मन्त्रालयले शुक्रबार मोटरसाइकल खरिदका लागि सहमति दिइसकेको छ ।
प्रदेशको सवारीसाधन खरिद मापदण्डलाई टेकेर मोटरसाइकल उपलब्ध गराउन लागिएको मन्त्री तामाङले बताए । मापदण्डअनुसार अधिकत्तम १६० सीसीको ३ लाख ५० हजार रूपैयाँ सम्मको मोटरसाइकल खरिद गर्न सकिने व्यवस्था छ ।