असोज- ११, काठमाण्डौ । सुदूरपश्चिम प्रदेशमा सूचना संकलन र अपराध अनुसन्धान गर्न सादा पोशाकमा खटाइएका प्रहरी विवादमा फसेपछि माथिल्लो निकायले कारबाही प्रक्रिया अघि बढाउन थालेका छन् ।
प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयले सादा पोशाकमा खटाइने प्रहरी कर्मचारीको व्यवहारलाई लिएर उजुरी पर्न थालेपछि उनीहरूलाई छानविनको दायरामा ल्याउन थालेका छन् ।
सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक(डीआईजी) डम्बरबहादुर बिश्वकर्माले लामो समयदेखि सादा पोशाकको जिम्मेवारीमा रहेका र विवादीत छवि भएका प्रहरीहरूमाथि कारवाही प्रक्रिया अघि बढाइएको बताए ।
उनले कैलालीसहित प्रदेशका सबै जिल्लामा लामो समयदेखि सादा पोशाकमा खटिएका प्रहरीहरूको जिम्मेवारी हेरफेर गर्ने काम भइरहेको बताए भने उजुरी परेका प्रहरीको हकमा प्रहरीमै तानेर छानविन अघि बढाइएको सुनाए ।
‘विभिन्न जिल्लामा लामो समयदेखि सादा पोशाकमा खटिएर गलत आचारण अवलम्बन गरेका, संगठनको बदनाम गर्ने गतिविधिमा संलग्न भएकाहरूका कारण समस्या देखिएपछि कारबाही प्रक्रिया अघि बढाइएको छ,’ डीआईजी विश्वकर्माले भने, ‘त्यसैले गुुनासो आएका र समस्या देखिएका ठाउँमा तत्कालै एक्सन लिने काम भइरहेको छ । विवादित प्रहरीलाई प्रदेशमै झिकाएर छानबिन हुन्छ । दोषी देखिएमा कारवाही गछौँ ।’