जनकपुरधाम रंगशाला निर्माण तीव्र बनाउन मन्त्री घिसिङ

1.8k Shares

युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले जनकपुरधामस्थित निर्माणाधीन श्रीराम–जानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशालाको स्थल निरीक्षण गरेका छन्।

शुक्रबार बिहान गरिएको यस निरीक्षणका क्रममा मन्त्रीद्वयले मधेश प्रदेशका खेलकुद मन्त्रालयका अधिकारीहरू तथा खेलकुद परिषद्का सदस्यहरूसँग निर्माण प्रगति र बाँकी कामबारे विस्तृत जानकारी लिएका थिए।

निरीक्षणपछि खेलकुद मन्त्री गुप्ताले ११ औँ राष्ट्रिय खेलकुद मधेश प्रदेशमै हुने भएकाले आवश्यक भौतिक संरचना समयमै निर्माण सम्पन्न गर्न अपरिहार्य रहेको बताए। उनले अहिले पनि केही समय बाँकी रहेको उल्लेख गर्दै बाँकी काम तीव्र गतिमा सम्पन्न गराउन सरकार आवश्यक कदम चाल्ने आश्वासन दिए।

गुप्ताका अनुसार रंगशालासम्बन्धी कागजी प्रक्रिया पूरा भइसके पनि फाइल आर्थिक मन्त्रालयमा लामो समयदेखि रोकिएको जानकारी आफूले प्राप्त गरेका छन्। उनले काठमाडौं पुग्नेबित्तिकै सम्पूर्ण प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिने प्रतिवद्धता व्यक्त गरे।

उनले ११ औँ राष्ट्रिय खेलकुदका लागि जनकपुरधाम र नारायणी मुख्य विकल्प भएकाले जनकपुरको रंगशाला तयार हुन अत्यावश्यक रहेको स्पष्ट पारे। निरीक्षण सकेपछि मन्त्री गुप्ता र मन्त्री घिसिङ सिरहा र धनुषालाई जोड्ने कमला पुलको अवस्थाबारे अध्ययन गर्न तेर्फ प्रस्थान गरेका छन्।

सम्बन्धित समाचार