काठमाडौंमा ‘सडक एम्बुलेन्स’ सञ्चालन, खाल्डाखुल्डीको तत्काल मर्मत सुरु

2.3k Shares

काठमाडौंका सडकमा देखिने खाल्डाखुल्डी तत्काल मर्मत गर्ने उद्देश्यसहित ‘सडक एम्बुलेन्स’ सेवा सञ्चालनमा ल्याइएको छ। नेपालमै पहिलोपटक प्रयोग गरिएको यो सेवा बिहीबार ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले शुभारम्भ गरेका हुन्।

सडक डिभिजन कार्यालय, काठमाडौंको कार्यक्षेत्रभित्र पर्ने सामरिक महत्वका सडकहरूमा आपतकालीन मर्मत आवश्यक परेमा यही एम्बुलेन्समार्फत तुरुन्त सेवा प्रदान गरिनेछ। साथै, सडकको अवस्थाबारे द्रुत जानकारी संकलन गर्न मोबाइल एप पनि सुरु गरिएको छ, जहाँ सडकमा देखिएको खाल्डोको फोटो खिचेर तुरुन्त अपलोड गर्न सकिनेछ, र मर्मतपछि अद्यावधिक विवरण राखिने व्यवस्था रहेको छ।

कार्यक्रममा मन्त्री घिसिङले सडक एम्बुलेन्सलाई नमुना परियोजनाका रूपमा अन्य प्रमुख शहरमा विस्तार गर्ने तयारी भइरहेको बताए। उनले अत्याधुनिक उपकरणसमेत प्रयोग गरेर मर्मत कार्यलाई अझ प्रभावकारी बनाइनुपर्नेमा जोड दिए।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मा तथा सडक विभागका महानिर्देशक विजय जैशीले नयाँ सेवाले सडक मर्मतसम्बन्धी गुनासा तत्काल समाधान हुने विश्वास व्यक्त गरे।

त्यसैगरी, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले मर्मत कार्यलाई पारदर्शी र प्रभावकारी बनाउन एम्बुलेन्सले महत्वपूर्ण सहयोग पुर्‍याउने बताए। सडक डिभिजन काठमाडौंका प्रमुख सुवोध कुमार देवकोटाका अनुसार यो सेवा २४ घण्टा र ३६५ दिन सधैँ तयारी अवस्थामा रहनेछ, र तालिमप्राप्त प्राविधिक टोलीले खाल्डो देखिने स्थानमा पुगेर छिटोछरितो मर्मत कार्य सम्पन्न गर्नेछ। भीडभाडका बेला पनि चेतावनी बत्तीको सहायताले आकस्मिक मर्मत गर्न सकिने व्यवस्था गरिएको छ।

 
 
सम्बन्धित समाचार