कांग्रेसको कार्यक्रममा माला, खादा, ब्याचलगायत सामग्री प्रयोगमा बन्देज

2.6k Shares

काठमाण्डौं ।  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पार्टीका सार्वजनिक कार्यक्रमलाई अनुशासित र व्यवस्थित बनाउन नयाँ कार्यविधि लागू गर्ने तयारी गरेको छ । पार्टीले तयार पारेको कार्यविधि आगामी जेठ १ गतेदेखि लागू गर्ने तयारी केन्द्रीय कार्यसमितिले गरेको छ ।

पार्टीले जिल्ला र प्रदेश तहबाट सुझाव लिएर कार्यविधिलाई अन्तिम रूप दिने भएको छ। कार्यविधिअनुसार अबदेखि पार्टीका सबै तहले आयोजना गर्ने कार्यक्रम निर्धारित समयमै सुरु र अन्त्य गर्नुपर्नेछ । प्रमुख अतिथि समयमा उपस्थित नभए पनि तालिकाअनुसार  कार्यक्रम सुरू गर्नुपर्ने व्यवस्था कार्यविधिमा गरिएको छ ।

अबदेखि कार्यक्रमअघि नै वक्ताको समय निर्धारण गरिने भएको छ । त्यही समयसीमाभित्र रहेर नेताहरूले बोल्नुपर्नेछ। यससँगै कार्यक्रमको मञ्चमा सभापति र एक जना वक्तामात्रै बस्ने व्यवस्था प्रस्ताव पनि कार्यविधिमा गरिएको छ ।

कार्यविधिमा कार्यक्रम सुरू भएको १५ मिनेटपछि बीचमा आशन ग्रहण कार्यक्रम नराख्ने, मञ्चमा भीडभाड गर्न नपाउने तथा कार्यक्रमस्थल अपाङ्गता भएका व्यक्तिलाई पहुँचयोग्य बनाउने व्यवस्था गरिएको छ । अबदेखि कार्यक्रममा वक्ताले लामो समय उपस्थित व्यक्तिहरूलाई सम्बोधन नगरी एकमुष्ट सम्बोधन गर्नुपर्ने भएको छ । बोल्दा पनि विषय केन्द्रित भएर बोल्नुपर्ने नियम अगाडि सारिएको छ ।

त्यस्तै, कुनै पनि कार्यक्रममा घृणा, द्वेष, हिंसात्मक, जातीय, क्षेत्रीय, धार्मिक, लैंगिक तथा सामाजिक विभेदजन्य शब्द प्रयोग गर्न नपाइने व्यवस्था कार्यविधिमा गरिएको छ । कांग्रेसले कार्यक्रमलाई सरल र औपचारिक बनाउन माला, खादा, ब्याचलगायत सामग्री प्रयोगमा बन्देज लगाउने प्रस्ताव पनि गरेको छ ।

सम्बन्धित समाचार