इरानको केश्म आइल्याण्ड (समुन्द्री टापु) मा सुरक्षित छन् क्याप्टेन अमृत झा

1.8k Shares

काठमाडौं । १५ अप्रिलमा परराष्ट्रमन्त्री शिशिर खनालले सामाजिक सञ्जालमा एउटा पोष्ट गरे । इरानको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत झा रिहा भएको भन्दै उनले स्टाटस पोष्ट गरेका थिए ।

‘इरानमा पक्राउ परेका अमृत झा रिहा भएका छन् । इरानमा हाम्रो मानार्थ महावाणिज्य दूतावास र कतार दूतावास उनीसँग सम्पर्कमा छन् । हाम्रो टोलीले उहाँलाई इरानबाट बाहिर ल्याउन काम गरिरहेको छ,’ मन्त्री खनालको स्टाटस थियो ।

मन्त्रीले स्टाटस लेखेको ७ दिन वितिसक्दा समेत अमृत झा अझै पनि इरानी हिरासतमै छन् ।मन्त्री खनालले स्थानीय अदालतबाट  रिहाईका लागि आदेश भएको र सोही आधारमा उनी रिहा भएर इरानको केश्म आइल्याण्ड (समुन्द्री टापु) मा सुरक्षित रहेको बताएका थिए ।

तर, अमृत झाका भिनाजु राजेश झाका अनुसार अमृतले हिजो बेलुका ५ बजेतिर फोन गरेर आफू जेलमै रहेको बताएका थिए ।
अमृतले परिवारलाई दिएको जानकारी अनुसार उनी हाल इरानको बन्दर अब्बास जेलमा छन् ।

होर्मोज्गान प्रान्तमा रहेको उक्त जेललाई मानवअधिकारकर्मीहरूले धेरै प्रश्न उठाउने गरेका छन् । यो जेल विशेषगरी विदेशी नागरिक, लागूऔषध मुद्दाका आरोपी, गम्भीर अपराधका कैदीहरूलाई राखिने जेलका रूपमा चिनिन्छ ।

‘परराष्ट्रमन्त्रीज्यूले रिहा हुनुभयो भनेर भन्नुभएपछि हामी एकदमै खुसी भएका थियौं । तर, हिजो बेलुका ५ बजेतिर फोन गरेर म त जेलमै छु, कसले रिहा गर्‍यो भनेर भनेपछि हामी त चकित पर्‍यौं,’ राजेशले  कुराकानीमा भने ।

सम्बन्धित समाचार